नेपालगञ्ज-भेरी अस्पताल नेपालगन्जमा प्रसुतिका लागि भर्ना भएकी गर्भवती महिलामा शनिबार कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। रुकुम चौरझहारी निवासी ती महिला बुधवार भर्ना भएकी थिइन्।
बच्चा जन्मने समय पुगिसकेकाले बिहीबार शल्यक्रिया गरेर बच्चा निकाल्ने तयारी गरिएको थियो। शल्यक्रियाको तयारी भइरहेका बेला अचानक उनलाई ज्वरो आएपछि कोरोना भाइरस भए/नभएको पुष्टि गर्न पीसीआर परिक्षण गरिएको थियो।
शनिवार रिपोर्ट आउँदा पोजेटिभ देखिएपछि भेरी अस्पतालको प्रसुति वार्डलाई सिल गरिएको छ। परीक्षणको रिपोर्ट ढिला आउँदा अस्पतालमा रहेका अन्यलाई पनि सरेको हुनसक्ने आशंका गरिएको छ।
अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाका अनुसार संक्रमित महिलालाई कोहलपुरस्थित शिक्षण अस्पताल लगिएको छ। कोभिड ३ लेभलको अस्पताल तोकिएको शिक्षण अस्पताल कोहलपुरमा जटिल खालका कोरोना संक्रमित बिरामीहरुको उपचार हुने गरेको छ।
उक्त अस्पतालले यसअघि कोरोना संक्रमित तीन जनाको सफलतापूर्वक शल्यक्रिया गरेको थियो।