काठमाडौँ–कोरोना संक्रमणलाई न्यूनीकरण गर्न सरकारले भोलि (बिहीबार) देखि राति ९ बजेदेखि ५ बजेसम्म हिँड्न नपाइने नियम लागू गरेको छ।
गृह मन्त्रालयले बुधबार एक सूचना जारी गरी यसबारे जानकारी गराएको हो। सरकारले राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक लगाएको हो। गृह मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाका अनुसार राति राति बाहिरी जिल्लाबाट सवारी आवागन धेरै हुने भएकाले संक्रमण रोक्न गृहले यस्तो नियम लागू गरेको हो।
यसैगरी कोभिड–१९ को सङ्क्रमणको जोखिमको विश्लेषण गरी जोखिम बढेको क्षेत्र/स्थानलाई जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले निर्णय गरी तुरुन्त बन्द गर्ने, कोभिड–१९ को थप परीक्षणको व्यवस्था मिलाउने पनि मन्त्रालयले जनाएको छ। अब जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले जोखिम देखिएका जिल्लामा लकडाउन गर्न सक्नेछ।
अत्याआवश्यक बाहेक सार्वजनिक र निजी सवारी साधन जोर गते जोर नम्बर भएका र विजोर गते विजोर नम्बर भएका सञ्चालन गर्न पाइनेछ। भदौ १ गतेदेखि लामो दूरीको सवारी साधन चलाउने तयारी भइरहेका बेला जोर विजोर लागू गरिएको हो। शहरी इलाकामा राती ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द गर्ने गृहको विज्ञप्तिमा उल्लेख छ।
त्यस्तै सरकारले सार्वजनिक कार्यक्रम, सेमिनार, भोजलगायतमा पनि रोक लगाएको छ। त्यस्तै जोखिम बढेको जिल्लामा कोभिड संकट व्यवस्थापन केन्द्रले निर्णय गरी तत्काल बन्द गराउने र कोरोनाको बढी परीक्षणको व्यवस्था गर्ने पनि गृह मन्त्रालयले जानकारी गराएको छ।