बुटवल । चौथो सयपत्री गोल्डकप नक आउट फुटबल प्रतियोगिता भोलि मंगलबारदेखि बुटवलमा सुरू हुने भएको छ । आयोजक सयपत्री युवा क्लब बुटवलले सोमबार एक कार्यक्रमको आयोजना गरी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानाकारी दिएको छ ।
खेलकुदको विकास र युवा खेलाडी उत्पादनको लक्ष्यसहित २०४८ सालमा स्थापना भएको क्लबले लामो समयपछि चौथो संस्करणको गोल्डकप गर्न लागेको हो ।
स्व. ज्ञानबहादुर गुरुङको स्मृतिमा हुन लागेको प्रतियोगिताको उपाधि विजेताले नगद २ लाख २ हजार २ सय २२ र उपविजेताले नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने क्लबका अध्यक्ष कमल रानाले जानाकारी दिए ।
त्यस्तै, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षक, उत्कृष्ट मध्यपंक्ति खेलाडी, अग्रपंक्ति खेलाडीलाई नगद ५ हजारका साथै म्यान अफ दी म्याच हुने खेलाडीलाई नगद २ हजार प्रदान गरिनेछ । ३० कात्तिकसम्म चल्ने यस प्रतियोगितामा नवलपरासी ११, आयोजक सयपत्री युवा क्लब, पाल्पा ११, फर्साटिकर युवा क्लब, ५ नं. प्रदेश प्रहरी तालिम केन्द्र, अभिषेक चर्च ब्वाइज रजहर, सुनौलो संगम कालिकानगर, सिद्धार्थ युवा क्लब बासगढी, भैरव देशभक्त युवा क्लब नवलपरासी गरी १२ टिमको सहभागिता हुने आयोजकले बताएका छन् ।
झण्डै १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगितामा दर्शकको सुविधाका लागि यस पटक चारवटा प्याराफिट निर्माण गरिएको जानकारी आयोजकले दिएका छन् । बुटवल– १०, रामनगरस्थित कालिका मानवज्ञानको खेलमैदानमा हरेक दिन ३ बजे सञ्चालन हुने सो प्रतियोगितको मंगलबार सामाजिक विकासमन्त्री सुदर्शन बरालले उद्घाटन गर्ने बताइएको छ । उद्घाटन खेलमा नवलपरासी ११ ले आयोजकसँग सामना गर्नेछ ।