कपिलवस्तु–कपिलवस्तुमा समुदायस्तरमा थप ५ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार कृष्णनगर नगरपालिकामा एक शिक्षक, २ विद्यार्थी, एकजना बैक कर्मचारी र एक जना डिजे साउण्ड व्यापारीमा कोरोना भाईरसको संक्रमण पुष्टि भएको हो।
यही साउन १८ गते लिइएका १ सय ३३ स्वाबमध्ये १ सय १९ जनाको रिपोर्ट नेगेटिभ आएको छ। ५ जनाको रिपोर्ट पोजेटिभ आएको र ९ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका फोकल पर्सन कुमार थापाले जानकारी दिए।
रिपोर्टअनुसार कृष्णनगर नगरपालिका वडा नं. २ का २१ र २५ वर्षीय २ जना पुरुष, वडा नं. ८ का १२ वर्षीय एक बालक, ३ वर्षीया १ बालिका र वडा नं. ११ का ४० वर्षीय १ जना पुरुष रहेका छन्।
योसँगै कपिलवस्तुमा कोरोना भाईरस संक्रमितको संख्या ८ सय ६ जना पुगेको छ। स्वास्थ्य कार्यालयले कपिलवस्तुमा समुदायस्तरमा कोरोना भाइरसको संक्रमण फैलिइसकेकाले सर्तकता अपनाउन भनेको छ।
केही दिन अघिमात्र शिवराज नगरपालिकाका १३ जना व्यक्तिमा कोरोना भाईरसको पुष्टि भएको थियो।