रुपन्देही । बुटवलमा रोजगार सुचना केन्द्र आजदेखी शुभारम्भ भएको छ । रुपन्देही उद्योग संघ लुम्बिनी प्रदेश सरकार एवं बुटवल उपमहानगरपालिकासङ्गको सहकार्यमा एक कार्यक्रमकाबिच रोजगार सुचना केन्द्रको शुभारम्भ गरिएको हो ।
केन्द्रको शुभारम्भ गर्दै लुम्बिनी प्रदेशका उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री अजय शाहीले आर्थिक हिसाबले सम्पन्न परिवारका युवा विकसित मुलुकमा र बिपन्न वर्गका युवा खाडी मुलुकमा जाने गरेकाले यसलाई रोक्न आवश्यक रहेको बताउनुभयो ।
“आजभोलि गाउँमा युवा देखिन छाडेका छ्न । बृद्धबृद्धामात्रै गाउँमा छन् । त्यसैले युवालाई विदेश जानबाट रोक्न स्वदेशमै रोजगारी सृजना गर्न आवश्यक छ”, उहाँले भन्नुभयो ।

बुटवल उपमहानगरपालिकाका उपप्रमुख साबित्रादेवी अर्यालले युवालाई विदेश पलायन हुनबाट रोक्न सूचना केन्द्रको प्रभावकारी कार्यान्वयन जरुरी रहेकामा जोड दिनुभयो । उहाँले उपमहानगरले युवालाई सीप सीकाएर आत्मनिर्भर बनाउने खालका कार्यक्रम तय गरेको बताउनुभयो ।
उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव विजय कार्कीले व्यक्तिलाई स्वरोजगार बन्न प्रेरित गर्ने बताउनुभयो । उहाँले बेरोजगार युवालाई सीपयुक्त बनाएर स्वदेशमै रोजगारी गर्न रोजगार सूचना केन्द्रले महत्त्वपूर्ण भुमिका खेल्ने बिश्वास व्यक्त गर्नुभयो ।
प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख दीपक ज्ञवालीले बिदेशी मुलुकबाट जनशक्ति ल्याउने अवस्थाको अन्त्य गर्न देशकै युवालाई दक्ष बनाउन आवस्यक रहेकोमा जोड दिनुभयो ।
उद्योग परिसंघका प्रदेश अध्यक्ष एजाज आलमले रोजगार सूचना केन्द्रमा बेरोजगार युवालाई सहाभागी बनाउन वडास्तरबाटै प्रचार प्रसार गर्नुपर्ने बताउनुभयो ।
रुपन्देही उद्योग संघका अध्यक्ष माधवप्रसाद पौडेलले बेरोजगारी समस्या समाधान गर्दै आर्थिक समृद्धि हासिल गर्न यसले सहयोग पुग्ने बताउनुभयो। रोजगार सुचना केन्द्रले उद्योगीलाई आवश्यक श्रमिकका लागि सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले बिदेश नजाने वातावरण तयार गर्न युवालाई स्वदेशमै रोजगारी सृजना गर्न आवश्यक रहेको धारणा राख्नुभयो । केन्द्रले रोजगारी सृजना, जनशक्ति उत्पादन र व्यवस्थापनमा ठूलो टेवा पुग्ने उद्योग संघका महासचीव हरी खत्रीले बताउनुभयो ।