धनगढी: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँचदलीय गठबन्धन आगामी तीनै तहको निर्वाचनसम्मै कायम रहने दाबी गरेका छन्।
प्रचण्डले बुधबार धनगढीमा पत्रकारहरुसँगको कुराकानीमा कांग्रेसका केही नेताले पाँचदलबीच गठबन्धन हुँदैन भन्ने गरे पनि आन्तरिक रुपमा सबैले गठबन्धन चाहेको बताएका हुन्।
‘तीनै तहको निर्वाचनसम्म गठबन्धन हुन्छ’, उनले भने, ‘त्यसका लागि सबै दलबीच राम्रो समझदारी बनेको छ।’
प्रचण्डले पाँचदलीय गठबन्धनलाई थप बलियो बनाउन राजनीतिक संयन्त्र बनेको तर्क गरे। ‘राष्ट्रियसभाको निर्वाचनमा पाँच दलले संयुक्त उम्मेदवार बनाउने पक्का भएको छ’, उनले भने, ‘त्यो तालमेल आगामी अन्य चुनावका लागि बलियो आधारसमेत बन्ने छ।’
अध्यक्ष प्रचण्डले तीनै तहको निर्वाचन एकैपटक गर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भएकोसमेत बताए। यसमा प्रधानमन्त्री देउवा सकारात्मक रहेको उनले जानकारी दिए।
पटकपटक चुनाव गर्दा राज्यलाई खर्च भार पनि बढी हुने र जनतालाई पनि दिक्क लाग्ने हुँदा सबै चुनाव एकैपटक गर्नुपर्ने माग आउन थालेको उनले बताए।