नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले सर्वोच्च अदालतमा संकट गहिरिँदै गएको बताएका छन्।
उनले अदालतबारे दलहरू चुप बसेको प्रश्न उठेकोले दलहरू यसबारे बोल्नुपर्ने पनि बताए।
‘दलाल पूँजीवादको गहिरिँदो संकट अहिले सर्वोच्च अदालतमा देखा परेको छ,’ फेसबुकमा आफ्ना धारणा सार्वजनिक गर्दै भुसालले भनेका छन्, ‘दलहरू किन चुप छन् भन्ने प्रश्न उठेका छन्। अदालतसँग लेनदेनमा फसेर राजनीतिक दलहरूले नैतिक हैसियत गुमाइसकेका छैनन् भन्ने सावित गर्न पनि हामीले बोल्नुपर्छ।’
अदालत र राजनीतिमा हुने दलाल पूँजीवाद एकै भएको उनले तर्क गरेका छन्। ‘अदालतमा दलाल पूँजीवाद कमजोर हुँदा दलहरूको आन्तरिक लोकतन्त्र र पारदर्शीताले उत्प्रेरणा पाउँछ। किनकी अदालत र राजनीतिमा हुने दलाल पूँजीवाद एउटै हो,’ भुसालले भनेका छन्।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले मन्त्रिपरिषदमा भाग लिएकोबारे विवाद हुँदा उनको राजीनामा माग भइरहेका छन्।