रूपन्देही । रुपन्देहीका १६ स्थानीय तहमध्ये १२ वटामा नेकपा एमालेले सर्वसम्मत नेतृत्व चयन गरेको छ। जिल्लाका १६ स्थानीय तहमध्ये सैनामैना, देवदह र सिद्धार्थनगर नगरपालिका र सियारी गाउँपालिकाबाहेक अन्य सबै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएको हो।
यी तीन स्थानीय तहमा सहमति जुटाउने प्रयास भइरहेपनि नेतृत्व चयन भएका छैनन्।
बुटवल उपमहानगरपालिकामा अध्यक्षमा किशन ज्ञवाली सर्वसम्मत चयन भएका छन्। अध्यक्षका लागि ६ जना आकांक्षी रहेका थिए। त्यस्तै उपाध्यक्षमा शोभाखर पोखरेल चुनिएका छन्। सचिव र उपसचिबमा भने अझै सहमति जुट्न नसकेको एमाले रुपन्देही सचिवालय सदस्य तेजेन्द्र केसीले बताए।
एमाले उपमहासचिवद्वय बिष्णु पौडेल र घनश्याम भुसालको निर्वाचन क्षेत्र पर्ने तिलोत्तमा नगरपालिकामा अझै सहमति जुट्न सकेको छैन। अध्यक्षको लागि चारजना आकांक्षी देखिएपछि नेतृत्वलाई मिलाउन सकस परेको छ । तिलोत्तमामा मिनप्रसाद पोखरेल, तामानाथ पाण्डे, सुरेन्द्र श्री र नेत्र वनको उम्मेदवारी रहेको छ।
उता देवदह नगरपालिका र सिद्धार्थनगर नगरपालिकामा पनि सहमति जुट्न सकेको छैन। यी स्थानीय तहमा चुनावको तयारी भइरहेको छ।
त्यस्तै सैनामैना नगरपालिकामा चेतनारायण न्यौपाने सर्वसम्मत अध्यक्ष चुनिएका छन् । त्यस्तै शुद्दोधन गाउँपालिका कमिटीमा बिष्णु गौतमको अध्यक्षतामा सबै कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको एमालेले जनाएको छ।
लुम्बिनी सांस्कृतिक नगरपालिकामा भने निसार अहमदको अध्यक्षतामा सबै नगरकमिटी सर्वसम्मत चयन भएको अध्यक्षमा आकांक्षा देखाएका वीरेन्द्र मिश्राले जानकारी दिए।
गैडहवा र कन्चन गाउँपालिकामा पनि सर्वसम्मत नेतृत्व चयन भएको विद्यार्थी नेता सन्दीप गुप्ताले जानकारी दिए। गैडहवामा भुवन रानाको अध्यक्षता र कन्चन गाउँपालिकामा दिनानाथ आचार्यको अध्यक्षतामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ।
कोटहिमाई गाउँपालिकामा राजकुमार गौण, ओमसतियामा ईन्द्रकुमार गुरुङ र रोहिणी गाउँपालिकामा सुनीलकुमार कौशलको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भएको एमाले नेता सन्जय गुप्ताले जानकारी दिए।
मर्चवारीमा केशरनाथ गिरी, सम्मरिमाईमा ईनुक मुसलमान र मायादेवी गाउँपालिकामा साधुशरण साहनीको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भएको छ।
रुपन्देहीमा प्रमुख पदहरु अध्यक्ष, उपाध्यक्ष तथा सचिव पदमा कुनै पनि पालिकामा महिला नेतृत्व भने आउन सकेन।