बुटवल । नेकपा एमालेले बर्षाको पूर्वसूचनालाई सरकारले बेवास्ता गरेका कारण किसानको धानबालीमा ठूलो क्षति भएको आरोप लगाएको छ। लुम्बिनी प्रदेशको संसदीय दलले आज बुटवलमा पत्रकार सम्मेलन गरी मौसम पूर्वानुमान महाशाखाको पूर्वसूचनालाई सरकारले ध्यान दिई किसानहरुलाई सचेत बनाउन नसक्दा क्षति भएको बताएको हो।
पत्रकार सम्मेलनमा वितरित एमालेको प्रेस विज्ञप्तिमा भनिएको छ, "मौसम पूर्वानुमान विभागले ३ दिन अघिदेखि नै मनसुनमा बदली हुने, ठूलो पानी पर्ने र लुम्विनी प्रदेश सहित देशभर भारी वर्षाका कारण क्षति हुन सक्ने जानकारी गराइसकेको अवस्थामा प्रदेश सरकारले हुन सक्ने सम्भावित क्षतिको आंकलन गरी गाउँगाउँका किसानहरुलाई पूर्वसचेतना दिन सकेन।"
सरकारले समेत पूर्व तयारीहरु गर्न सक्ने समय प्रशस्त हुँदा हुँदै पनि प्रदेश सरकारले मौसम पूर्वानुमान विभागले दिएको पूर्व जानकारीलाई वास्ता नगरेका एमालेले ठहर गरेको छ । ‘विगत ४ दिनदेखि लुम्विनी प्रदेश सहित मुलुकका अर्धिकांश स्थानमा अति वर्षाको कारण भएको बाढी, पहिरो र धनजनको क्षतिप्रति गहिरो दुःख र सहानुभूति प्रकट गर्न चाहन्छ," विज्ञप्तिमा भनिएको छ।
ठूलो क्षति हुँदासमेत प्रदेश सरकारले अहिलेसम्म कुनै सरोकार नराखेको भन्दै एमालेले सरकारको आलोचना गरेको छ।
"हामीले प्रष्टसँग देखेका छौं । लुम्बिनी प्रदेश सरकार अल्मलमा छ । प्रदेश सरकार गठन हुन मात्रै महिनौ लाग्यो । नेकपा एमालेले प्रस्तुत गरेको जनमैत्री समाजवादोन्मूख बजेट संशोधनका नाममा अनावश्यक कांटछांट गरेर भुत्ते बनाउने काम बाहेक यो सरकारले केही गर्न सकेको छैन," विज्ञप्तिमा भनिएको छ, "समयमा बजेट नबन्दा अब सरकारका आगामी योजनाहरु नै सम्पन्न हुन नसक्ने पक्कापक्की भएको छ।"
नेकपा एमाले संसदीयदलका उपनेता बैजनाथ चौधरीले हस्ताक्षर गरेको विज्ञिप्तमा आगामी दिनमा मौसम पूर्वानुमान विभागले दिएको पूर्व सूचनाहरुलाई आत्मसात गर्दै सम्भावित जोखिमहरुको न्यूनीकरणमा विशेष ध्यानदिन जोडदार माग माग समेत गरिएको छ । अहिले भएको किसानहरुको बाली नालीमा भएको क्षतिप्रति अलि बढी गम्भीर भएर अतिरिक्त स्रोत परिचालन गरेर भएपनि क्षतिपूर्ति दिन विज्ञप्ति मार्फत माग गरिएको छ ।