बुटवल। एमाले उपमहासचिब एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले औद्योगिक विकासमा सरकार नै बाधक भएको बताएका छन्। देशको आर्थिक तथा औद्योगिक विकासमा सरकारले पूर्वाग्रह राखेको उनले गुनासो गरेका छन्।
मोतिपुर ओद्योगिक क्षेत्रमा भूमि अतिक्रमणमा सरकारले टुलुटुलु हेरिरहेको उनले बताएका हुन्।
रुपन्देही उद्योग संघको ४३औँ वार्षिक साधारणसभा तथा २२औँ अधिवेशनमा शनिबार बुटवलमा उनले आफू अर्थमन्त्री रहँदा औद्योगिक विकासका लागि महत्वपूर्ण काम गरेको चर्चा गर्दै ती कार्यक्रमहरूको कार्यान्वयनमा जोड दिए । आफू सरकारमा रहँदा औद्योगिक विकासदेखि विभिन्न महत्वपूर्ण विकास आयोजना अगाडि बढाउने गरी भएका कामको निरन्तर कार्यान्वयनका लागि वर्तमान सरकारले निर्वाह गर्नुपर्ने भूमिकामा कमी आउन नहुनेमा उनले जोड दिए ।
पौडेलले आफू अर्थमन्त्री रहँदा ल्याएको बजेटमा निजी क्षेत्रका माग र आवश्यकतालाई समावेश गरेको बताउँदै त्यसलाई वर्तमान गठबन्धन सरकारले तोडमोड गर्ने प्रयास गरेको आरोप लगाए । बजेटमार्फत उद्योगका क्षेत्रमा समावेश गरिएका सकारात्मक योजनाहरूमा सरकारको मौनताले औद्योगिक क्षेत्रको विकासमा बाधा उत्पन्न हुने विश्लेषण उनले गरे ।
कार्यक्रममा नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष वीरेन्द्रनाथ पाण्डेले निजी क्षेत्रको विकासका लागि सरकारले लगानीमैत्री र उद्योग–व्यवसाय गर्ने वातावरण बनाउनुपर्ने कुरामा जोड दिए । उद्योग परिसंघ लुम्बिनीका अध्यक्ष एवं संघका पूर्वअध्यक्ष परिषद्का अध्यक्ष एजाज आलमले उद्योगमुखी अर्थतन्त्र विकासका लागि औद्योगीकरणको विकास गर्दै आयातमुखी अर्थतन्त्रको प्रतिस्थापन गर्दै लानुपर्ने कुरामा जोड दिए ।
रुपन्देही उद्योग संघमा माधव पौडेल
संघको आगामी दुई वर्षका लागि नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । निर्वाचन समितिले शनिबार औपचारिक रूपमा घोषणा गर्दै संघको अध्यक्षमा माधवप्रसाद पौडेल निर्विरोध निर्वाचित भएको जनाएको छ ।
समितिका अनुसार वरिष्ठ उपाध्यक्षमा दिलीप सापकोटा, प्रथम उपाध्यक्षमा कृष्णप्रसाद पराजुली र द्वितीय उपाध्यक्षमा जीवकान्त काफ्ले, महासचिवमा हरिबहादुर खत्री, कोषाध्यक्षमा हिरामणि भट्टराई, सचिवमा वसन्त ढकाल, सचिव महिलामा मञ्जु भुसाल र सहकोषाध्यक्ष पदमा सुरेन्द्र ज्ञवाली चयन भएका छन् ।
यसैगरी, आजीवन सदस्यमा माधव नेपाल, संस्थागत सदस्यमा अशोक कुँवर, महिला सदस्यमा शारदा भट्टराई र मीना थापा तथा बुटवल औद्योगिक क्षेत्रबाट कमल ज्ञवाली चयन भएका छन् ।
संघको खुला सदस्यमा प्रेम आले, लालप्रसाद बस्याल, राजु घिमिरे, बलबहादुर गोदार, चन्द्रकान्त खनाल, गोविन्द भुसाल, लालबहादुर थापा र नेत्र रुचाल चयन भएका छन् । त्यस्तै, बुटवल उपमहानगर पालिकाबाट लालहरि पाण्डे र जमुना पोखरेल तथा तिलोत्तमा नगरपालिकाबाट विशाल बेल्वासे चयन भएका छन् ।