काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई फासिस्ट बनेको बताएका छन् ।
माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल)ले काभ्रेमा आयोजना गरेको भेलामा बोल्दै अध्यक्ष प्रचण्डले ओलीलाई हरुवा, भगौडा र फासिस्टको संज्ञा दिएका हुन् । “केपी ओली विदेशीका दलाल, फासिस्ट र अहंकारी हुन्,” उनले भने, “उनी हिन्दु अतिवादीका अहंकारी र दलाल पनि हुन् ।”
प्रचण्डले ओलीजस्तो अहंकारी, दम्भ भएको र फासिष्टलाई ७० प्रतिशत बहुमतले कारबाही गरेको भन्दै विदेशी षड्यन्त्रका कारण मात्र उनी कारबाहीबाट जोगिएको दाबी गरे । “केपी ओलीजस्तो मूर्ख र बुद्धिहीन मान्छे मैले देखेको छैन,” प्रचण्डले भने, “पार्टी एकता इमानदारीपूर्वक अघि बढाएको भए महान् नेता हुने बाटो आफ्नै बुद्धिले केपीले भाँडेको हो । विदेशी षड्यन्त्रसामु आत्मसमर्पण गरेर पार्टीलाई विसर्जन गरेको छ ।”
“केपी हरुवा हो, केपी भगौडा हो, कम्युनिस्ट आन्दोलनबाट भागेको हो, मार्क्सवादसँग हारेर भागेको हो,” प्रचण्डले भने, “हामी विजेता हौँ, केपी हरुवा हो भन्नेकुरा याद राख्नुहोला ।”
उनले अगाडी थपे- "हामीले केपी ओलीजस्तो अहंकारी र विदेशीको दासलाई संसदीय दलको नेताबाट हटाएर प्रधानमन्त्रीबाट हटाउने प्रक्रिया थालेका थियौँ । केपीले विदेशीको इसारामा संसद् विघटन गरेर प्रतिक्रान्तिको बाटो लिएपछि बल्ल उपलब्धि जोखिममा परेको हो ।"