बुटवल । पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले केपी शर्मा ओलीले पछिल्ला केही वर्षदेखिको अवस्थालाई हेर्दा मुलुकमा अरु पार्टीहरु असफल भइसकेकाले कम्युनिष्ट नेतृत्वबिना समृद्ध नेपालको सम्भव नरहेको बताए । उनले सार्वभौमसत्ता, भौगोलिक अखण्डता, कुनै पनि देशसँग बराबरी हैसियत राख्ने जस्ता विषयमा कम्युनिष्टले मात्रै नेतृत्व गर्न सक्ने दावी गरे । उनले भने-"हामी देश र जनताको हितमा उभिने पार्टी हौं । स्वार्थको हितमा उभिने पार्टी होइनौं । हामी त्यस्ता बिराला होइनौं, जहाँ खान पाइन्छ त्यहाँ जाने पनि होइनौं ।"
एमालेमा जस्तो आन्तरिक जनवाद अरु पार्टीमा नरहेको दावी गर्दै ओलीले यसलाई टुक्रयाउन कसैले पनि नसक्ने उनको दावी छ । उनले भने-"एमालेलाई छेक्छु, एमालेलाई रोक्छु, एमालेलाई तोड्छु भन्छ भने त्यो शक्ति आफै बिलाएर जान्छ ।"
अघिबढ्दै ओलीले एमालेको सरकारले गरेको विकास देखेर अरु दल आत्तिएकाले 'प्रतिक्रियाबादीहरुले सरकार ढालेको' आरोप लगाए । उनले विकास निर्माणका काममा गति लिएको सरकारका विरुद्ध संगठित भएर प्रतिपक्षले रोक्ने प्रयास गरेको बताए ।
उनले भने-,"हामीले शिक्षा,स्वास्थ्य,पूर्वाधार निर्माण र सामाजिक उत्थानमा खेलेको भूमिका देखेर हामीलाई रोक्ने प्रयास गरियो । हाम्रो सरकार तिव्र विकासको गतिमा अगाडि बढेको थियो । तर, अहिले हेर्नुस त २ महिना भयो मन्त्रीपरिषद् विस्तार हुन सकेको छैन ।’
ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेतालप्रति तिक्तता पोखे । नेपालले पार्टीमाथि बञ्चरो प्रहार गरेर अपराधकर्म गरेको आरोप लगाउँदै उनले नेपाललाई कमरेड भन्न नसुहाउने बताए । "प्रतिक्रियाबादीको सेवा गर्दै देउवा नेतृत्वको सरकार बनाउने माधव नेपाल कामरेड हुनै सक्दैनन्," उनले भने ।