बुटवल । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले पार्टी विभाजन नभएको बताएका छन् । बुटवलमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता पौडेलले पार्टीबाट 'केही स्वार्थी तत्व'हरु मात्र बाहिरिएको बताएका हुन् ।
पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता पौडेलले भने-"एमाले विभाजन गर्न अध्यादेश ल्याइएको छ। तर त्यसले एमाले विभाजन भएको छैन। पार्टीबाट केही स्वार्थी तत्वहरु बाहिरिएका मात्र हुन्।’
उनले पार्टीभित्र देखिएको अन्तरविरोधलाई बैचारिक लडाइँ नभई स्वार्थको लडाइँमात्र रहेको दावी गरेका छन् । उनले भने-"यो कुनै सिद्धान्त केन्द्रित लडाइँ थिएन । स्वार्थ केन्द्रित लडाइँ थियो । नेकपा एमाले कब्जा गर्ने र नसके स्वार्थी तत्वलाई अलग्याएर पार्टी कमजोर बनाउने कोसिस भएको हो ।"
उनले माधव नेपालको निजी स्वार्थ कै कारणले पार्टी एकताविरुद्ध लागेको आरोप लगाए। प्रचण्डको आडमा केही व्यक्तिलाई लिएर पार्टी कब्जा गर्नेसम्मको खेल गरेको दाबी गरे।
माधव नेपालतर्फ इङ्गित गर्दै नेता पौडेलले एमाले सरकार ढालेर कांग्रेस नेतृत्वको सरकार कांग्रेसको पछि लागेको आरोप लगाए । अघि बढ्दै उनले भने, "शेरबहादुर देउवाको पद सुरक्षित भएपछि पनि एमालेलाई विभाजित गर्ने प्रयास सफल हुन दिदैनौँ। अहिले प्रतिपक्षमा रहेपनि आगामी निर्वाचनपछि फेरि सरकारमा पहिलो पार्टीको साथ सरकारमा आउँछौँ।"
भेलालाई सम्बोधन गर्दै नेता पौडेलले ओली नेतृत्वको सरकारले ल्याएको बजेट सरकारले प्रतिस्थापन गरे पनि पास हुन नसक्ने दावी गर्दै सभामुख अग्निप्रसाद सापकोटाले दोहोरो चरित्र देखाएका कारण संसद चल्न नसकेको आरोप लगाए ।