बुटवल–६ लेन सडकको बीचका बुद्धको मूर्ति तोडफोड भएको झण्डै एक वर्षपछि तिलोत्तमामा सडक किनारको अर्को सौन्दर्यमा प्रहार भएको छ । गएराती तिलोत्तमाको सडक किनारमा लगाइएका ३२ वटा रुखहरु काटिएको छ । एक वर्ष अघि २०७६ साउन २ गते राती शंकरनगरदेखि नयाँ मिलसम्मका ५ वटा बुद्धको मूर्ति तोडफोड भएको थियो ।
अहिले नयाँ मिलदेखि मणिग्रामसम्मका सडक किनारमा हरियालीको लागि लगाइएका रुखहरु काटिएको हो । बुद्ध मूर्तिको तोडफोडमा संलग्न पक्राउ परेका छैनन् । यी दुइ घटना एउटै समुहले गराएको हो की भनेर अड्कलबाजी गरिएको छ । तर व्यक्तिको पहिचान हुन सकेको छैन ।
तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले यो घटनाको अनुसन्धान पछि सबैकुरा खुल्ने बताए । सिसिटिभी फूटेजमा रुखहरु काटेको देखिएकाले यसमा संलग्नहरु छिट्टै कारबाहीको दायरामा आउने उनको भनाइ छ । ‘बुद्धको मूर्ति तोडफोडको घटनाको कारबाही भएको कुरा आएको छैन । यसको चाँहि धेरै प्रमाणहरु देखिएको छ । समय, मान्छे देखि लिएर उसको लवाइलगायतका कुरा फुटेजमा स्पष्ट देखिएको छ–प्रवक्ता श्रीले भने–प्रहरीले अनुसन्धान गर्दैछ । छिट्टै सार्वजनिक होला भन्ने अपेक्षा गरेका छौं ।’
सडकको बीचभागमा राखेका बुद्धको मूर्ति अनि किनारमा हरियाली सहित सौन्दर्य दिएको रुख बिरुवामा क्षति पुग्दा तिलोत्तमा नगरको सौन्दर्यको शत्रु को छ भन्ने प्रश्न उठेको छ । तिलोत्तमा नगरका प्रवक्ता सुरेन्द्र श्रीले नगरपालिकाले गरेका राम्रा काम मन नपराउनेहरुले यस्तो घटना घटाएको हुनसक्ने बताउँछन् ।
‘यहाँ हामीले हरियाली सहित सफासुघर बनाउने, नगरको छुट्टै पहिचान बनाउने लगायतका काम गरिरहेका छौ, सम्भवतः यी सबै कुराहरु मन नपरेको हुनसक्छ कसैलाई । तर कसले गरिरहेको छ भन्ने कुरा अहिलेसम्म हामी पनि अनविज्ञ छौं ।’–उनले भने–‘पछिल्लो घटनाको सिसीटिभि फूटेजले कुन मान्छेले केको लागि यस्तो गरिरहेको छ भन्ने कुरा तथ्य बाहिर आउला ।’