बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले माधवकुमार नेपालको नेकपा एमाले (समाजवादी) पार्टीको सनाखत हुनासाथ मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन् ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्ड नयाँ परिस्थिति बनेको बताउँदै मन्त्रिपरिषद विस्तारमा ढिला नहुने बताएका हुन् ।
उनले भने-‘हिजोबाट नयाँ परिस्थिति बनेको छ। आज बिहान प्रधानमन्त्रीसँग पनि मन्त्रिपरिषद विस्तारबारे कुरा भएको छ। अब मन्त्रिपरिषद विस्तार गर्न ढिलो गर्न हुन्न भन्ने कुरा भएको छ ।’
उनले माधव नेपालको पार्टी आयोगमा सनाखत हुनासाथै मन्त्रिपरिषद विस्तार हुने बताएका हुन् ।
उनले राजनीतिक दलसम्बन्धी अहिले ल्याएको अध्यादेशको बचाउ पनि गरेका छन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र र संविधान विरोधी हुने गरी अध्यादेश ल्याउँदा विरोध गरिएको बताएका उनले अहिले संविधान र लोकतन्त्र रक्षा गर्न अध्यादेश ल्याइएको दाबी गरे। ‘सबै अध्यादेश उस्तै हो भनेर बडो आदर्शवादी कुरा सुनिएको छ। लोकतन्त्र र संविधान सिध्याउने र रक्षा गर्ने अध्यादेश उस्तै हैन,’ उनले भने।