बुटवल । लुम्बिनी प्रदेशमा लगातार तेस्रो पटक सदन अवरुद्ध भएको छ । आज दिउँसो १ बजे बोलाइएको प्रदेश सभा बैठक बस्नै नबसी सूचना टाँस गरी स्थगित गरिएको छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पार्टीले कारवाही गरेका दुई सांसदलाई पद मुक्त गर्न माग राख्दै निरन्तर सदन अवरुद्ध पारेपछि प्रदेश सभाको नवौं अधिवेशनका कुनै पनि बैठक बस्न नसकेको हो ।
आज बस्ने भनिएको तेस्रो बैठक सभामूखको निर्देशनमा स्थगित गर्ने गरी सूचना टाँस गरिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले बताए । आगामी बैठक भदौ ७ गते सोमबार दिउँसो १ बजे बस्ने छ ।
'राजनीतिक दलसम्बन्धी ऐन'को बर्खिलाप कुलप्रसाद केसी नेतृत्वको सरकारलाई समर्थन गरेको भन्दै सांसदद्वय अजयबहादुर शाही र विमला वलीलाई कारवाही गरेको थियो । एमालेको केन्द्रिय कमिटिले कारवाहीको सूचना प्रदेश संसदीय दलमार्फत प्रदेश सचिवालयलाई बुझाइसकेको छ । उक्त पत्र प्रदेश सभामा पढेर सुनाई सांसदद्वय शाही र वलीलाई पदमुक्त गर्न एमालेले माग राखिरहेको छ ।
यद्यपी, एमालेले कारवाही गरेका शाहीले आफू स्वत्नत्र भएको दावी गरिरहेका छन् । उता नेकपाबाट चुनाव जितेकी वलीले भने पार्टी खण्डिकरण भएपछि आफूले माओवादी रोजेकाले एमालेले कारवाही गर्न नपाउने बताइरहेकी छन्
तर, प्रशासनिक कार्यप्रकिया नपुगेकाले सूचना पढेर सुनाउन नमिल्ने सभामुख पूर्णबहादुर घर्तीले बताएका छन् । उनले एमाले संसदीय दललाई थप कागजातहरु पेश गर्न आग्रह गरेको बताएका छन् ।