बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलबहादुर केसीको सपथ ग्रहण कार्यक्रममा स्वास्थ्य मापदण्डमा खेलाँची गरिएको छ । प्रदेश प्रमुखको कार्यालयमा आयोजना गरिएको सपथ ग्रहण कार्यक्रममा न्युनतम स्वास्थ्य मापदण्ड पनि पालना नभएको देखिएको हो ।
मुख्यमन्त्री केसी र उनी नेतृत्वको सरकारमा सहभागी भएका मन्त्रीहरुले सपथ लिएको उक्त कार्यक्रममा सामाजिक दूरीको धज्जी नै उडाइएको छ ।
स्वास्थ्य मन्त्रालयले कोभिड-१९ को तेस्रो लहर तत्काल सुरु हुनसक्ने चेतावनी दिइरहेको छ, तर सपथ कार्यक्रममा देखिएका दृष्यले भने कोरोना संकट हराइसकेको जस्तो भान गराएका छन् । कार्यक्रममा सहभागिहरु बीच कुनै पनि किसिमको सामाजिक दूरीको मापदण्ड पालना भएको थिएन भने मास्क नै नलगाएकाहरु पनि कार्यक्रममा सहभागी थिए । सपथ ग्रहणपछि सहभागीहरुले मुख्यमन्त्रीलाई बधाई दिन ठूलो भिड लगाएका थिए । मन्त्रीहरुले पनि भिडभाडका बीच बधाई ग्रहण गरिरहेका थिए ।
प्रदेश प्रमुख कार्यालयले स्वास्थ्य मापदण्ड अनुकुलको कार्यक्रम आयोजना गरी भिडको व्यवस्थापनमा ध्यान दिन नसक्दा यस्तो दृश्य देखिएको हो । सरकारी कर्मचारी, राजनीतिक पार्टीका कार्यकर्ता, जनप्रतिनिधिहरुको उपस्थितका बीच सम्पन्न भएको कार्यक्रममा न्युनतम स्वास्थ्य मापदण्डको पालना नहुनुले कोभिड-१९ प्रतिको अनौठो संवेदनशीलतालाई झल्काएको छ ।
हेरौं तस्वीर: