बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्रीको नेतृत्वमा सरकार सहभागि भएका मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।
नेकपा माओवादी, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी(जसपा) र राष्ट्रिय जनमोर्चा सम्मिलित गठबन्धनका तर्फबाट सरकारमा सहभागी भएका ६ जना मन्त्रीहरुले प्रदेश प्रमुख अमिक शेरचनबाट सपथ ग्रहण गरेका हुन् ।
मुख्यमन्त्रीसहित सात सदस्यीय मन्त्रिपरिषदमा ग्रामीण तथा शहरी विकास मन्त्रीका रुपमा डिल्ली चौधरी, आर्थिक मामिला तथा योजना मन्त्रीका रुपमा कृष्णध्वज खड्का र भौतिक पूर्वाधार विकास मन्त्रीका रुपमा सहसराम यादवले सपथ लिएका छन् । यस्तै अजय शाही, सुमन शर्मा रायमाझी र पुर्मती ढेंगाले विनाविभागीय मन्त्रीका रुपमा सपथ लिएका छन् । विभागीय मन्त्रीहरुले आजैदेखि कार्यभार सम्हाल्ने बताइएको छ ।
कांग्रेसका चौधरी र माओवादीका कृष्णध्वज खड्का र जनता समाजवादी पार्टीका सहषराम यादव मन्त्री बनेका हुन्। त्यस्तै, जनता समाजवादीका पुर्मती ढेगा र सुमन शर्मा रायमाझी पनि मन्त्री बनेका छन्। स्वतन्त्र सांसद अजय शाही पनि मन्त्रीको शपथ लिएका छन्।
यसअघि सोही कार्यक्रममा मुख्यमन्त्री केसीले सपथ ग्रहण गर्दै कार्यभार सम्हालेका छन् । संविधानको धारा १६८(२) अनुसार ४ दलीय गठबन्धनको समर्थनमा प्रदेश प्रमुख शेरचनले केसीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
संविधानको यस धारा अनुसार दुई वा दुईभन्दा धेरै दलको समर्थनमा नियुक्त भएका मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनु पर्छ । केसीले ४१ सांसद रहेको नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनले केसीको नेतृत्वमा नयाँ सरकारका लागि दाबी पेश गरेका थिए ।