बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले पद तथा गोपनीयताको सपथ लिएका छन् ।
आज विहीबार प्रदेश प्रमुख कार्यालयमा आयोजना गरिएको सपथ ग्रहण कार्यक्रममा संविधानको धारा १७२ अनुरुप प्रदेश प्रमुख अमिक शेरचनबाट मुख्यमन्त्री केसीले सपथ ग्रहण गरेका हुन् । केसीले आजैदेखि कार्यभार पनि सम्हालेका छन् ।
यसअघि बिहीबार दिउँसो तीन बजे प्रदेश प्रमुख शेरचनले केसीलाई संविधानको धारा १६८(२) अनुसार ४ दलीय गठबन्धनको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । संविधानको यस धारा अनुसार दुई वा दुईभन्दा धेरै दलको समर्थनमा नियुक्त भएका मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनु पर्छ । केसीले ४१ सांसद रहेको नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनले केसीको नेतृत्वमा नयाँ सरकारका लागि दाबी पेश गरेका थिए ।
केसी रोल्पा १ (क)बाट निर्वाचित सांसद हुन्। गठबन्धनले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेको छ।