बुटवल-लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको नेतृत्वमा गठन हुने सरकारमा गठबन्धनका ३ दलबाट र एक स्वतन्त्र गरी छ जना मन्त्री बन्ने भएका छन्।
कांग्रेसका डिल्ली चौधरी, माओवादीका कृष्णध्वज खड्का र जनता समाजवादी पार्टीका सहषराम यादव मन्त्री बन्ने पक्का भएको माओवादी नेता सुदर्शन बरालले जानकारी दिए। यस्तै जनता समाजवादीका पुर्मती ढेगा र सुमन शर्मा रायमाझी पनि मन्त्री बन्ने भएका छन्। स्वतन्त्रबाट अजय शाही भन्त्री हुने भएका छन् ।
चौधरी ग्रामीण तथा शहरी विकास, यादव भौतिक पूर्वाधारमन्त्री हुदैछन्। अरू भने विनाबिभागीय हुन्। मुख्यमन्त्रीको रुपमा माओवादी केन्द्रका कुलप्रसाद केसी नियुक्त भईसकेका छन्।
प्रदेश सभाका ४ दलबीचको गठबन्धनका तर्फबाट प्रदेश प्रमुखसामु पेश भएको दाबीअनुसार केसी मुख्यमन्त्री नियुक्त भएका हुन्।
प्रदेश प्रमुख शेरचनले नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरे।
नवनियुक्त मुख्यमन्त्रीको आजै केहीबेरमा प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीको सपथ ग्रहणको कार्यक्रम हुँदैछ।
प्रदेश प्रमुख अमिक शेरचनले बुधबार २४ घण्टाको समय दिएर सरकारका लागि दाबी गर्न आह्वान गरेका थिए। सोही अनुसार ४१ सांसद रहेको नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनले केसीको नेतृत्वमा नयाँ सरकारका लागि दाबी पेश गरेको थियो।