बुटवल । वर्तमान अर्थमन्त्री जनार्दन शर्माले साउन २६ गते प्रतिनिधि सभामा प्रस्ततु गरेको स्वेतपत्रलाई निवर्तमान अर्थमन्त्री विष्णु पौडेलले अघिल्लो सरकारविरुद्ध ल्याइएको आरोप पत्रको संज्ञा दिएका छन् ।
प्रतिनिधि सभामा बोल्दै नेता पौडेलले स्वेतपत्र अघिल्लो सरकारको तथ्यहीन आलोचना र विरोधमा केन्द्रित रहेको बताए ।
उनले भने-,'देशको वर्तमान अवस्थाको आर्थिक स्थितिको जानकारी भनेर अर्थमन्त्रीले प्रस्तुत गर्नुभएको उक्त आलेख सरसर्ती सुन्दा र गहिरोगरी अध्ययन गर्दा अघिल्लो सरकारका कामहरुका बारेमा अघिल्लो सरकारको तथ्यहीन आलोचना र विरोधमा केन्द्रित भएको एउटा आरोपपत्रमा प्रस्तुत भएको पाएँ ।'
उनले सत्ता पक्ष र विपक्षका बीचमा नीति विचार र दृष्टिकोणमा मतभिन्नता हुनसक्ने भए पनि मुलुकको आर्थिक अवस्थाको तथ्यांकको बारेमा कुनै विमति हुन नहुने बताए। आफ्नो आग्रह पुष्टि गर्न तथ्याकंको गलत प्रयोग वा तोडमोड गरिन नहुने बताए ।