बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त भएका छन् । संविधानको धारा १६८(२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यका रुपमा केसीलाई प्रदेश प्रमुख अमिक शेरचनले नियुक्त गरेका हुन् ।
नेपाली कांग्रेस, जनता समाजवादी पार्टी(जसपा) र राष्ट्रिय जनमोर्चाको समर्थनमा नेकपा माओवादीका संसदीय दलका नेता केसीले लुम्बिनी प्रदेश सरकारको बागडोर सम्हाल्न आइपुगेका छन् । गठबन्धनको सहमतिलाई मान्ने हो भने केसीले अबको ८ महिनापछि नेपाली कांग्रेसका संसदीय दलका नेता विरेन्द्र कानोडियालाई मुख्यमन्त्री पद हस्तान्तरण गर्नुअघिसम्म सरकारको नेतृत्व गर्नेछन् ।
को हुन् मुख्यमन्त्री ?
लुम्बिनीको पश्चिमी पहाडी जिल्ला रोल्पामा जन्मेका केसीको हुर्काई कम्युनिस्ट हो । २०२७ माघ १० गते बुबा टिकाराम केसी र आमा रजमता केसीका छ भाईमध्ये कान्छा छोरा हुन्, केसी ।
केसी विद्यालय तहमै पढ्दा राजनीतिमा जोडिए । उनी २०४३ सालमा नेकपा मसालको विद्यार्थी संगठनमा आवद्ध भए। एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षा अध्ययन गर्न दाङ झरे र त्यहाँ महेन्द्र बहुमुखी क्याम्पसमा भर्ना भए । आईए पढ्दापढ्दै विद्यार्थी संगठनमा आवद्ध भई सक्रिय राजनीति गर्न थाले। विद्यार्थी राजनीति सुरु गरेको चार वर्षपछि २०४७ सालमा पार्टी सदस्यता पाए।
विद्यार्थी संगठन हुँदै राजनीतिमा होमिएका केसी २० बर्षको उमेरमा प्राथमिक तहको स्थायी शिक्षक बने । विद्यार्थी राजनीतिमा सक्रिय केसी शिक्षक भएपनि आफ्नो राजनीतिलाई निरन्तरता दिए। प्राथमिक तहको स्थायी शिक्षक भएका केसी पार्टीमा एरिया सेक्रेटरी भएर भूमिका निर्वाह गरे।
केसीलाई चिन्नेले भन्छन्, उनको स्वभाव खरो छ । यतिसम्म कि २०४९ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोईराला रोल्पाको सदरमुकाम लिबाङ पुगेका बेला केसीले कालो झण्डा देखाइदिए । त्यसबापत उनीमाथि सार्वजनिक मुद्दा चलाइयो । परिणाम; एकातर्फ जागिर गयो, अर्कातर्फ भूमिगत हुनुपर्यो । उक्त घटनाले केसीको राजनीतिक यात्रा तय गरेको थियो । शिक्षकबाट राजीनामा दिएपछि केसी तत्कालीन जनमोर्चामा सक्रिय भई भूमिगत राजनीति गर्न थाले।
२०५२ साल फागुन १ गते तत्कालीन माओवादीले ‘जनयुद्ध’मा जाने घोषणा गरेपछि उनी भुमिगत भई माओवादीमा सक्रिय भए। माओवादी ‘जनयुद्ध’मा जाने बेला उनी रोल्पा जिल्ला पार्टी सदस्य मात्रै थिए। भूमिगत भई राजनीति गर्न थालेपछि उनको राजनीतिक उचाई थपिँदै गयो।
२०५५ सालमा उनले दाङ, प्युठान र सल्यान जिल्लाको सेक्रेटरीको भूमिका पाए। त्यसपछि २०५६ साल भेरी-कर्णाली सैन्य कमिसार र २०५७ सालको दोस्रो राष्ट्रिय सम्मेलनबाट पार्टी केन्द्रीय सदस्यमा निर्वाचित भए। २०५६ सालपछि भेरी-कर्णाली क्षेत्रको सैन्य कमिसार बने ।
तत्कालीन माओवादीले पहिलोपटक रोल्पाको होलेरी आक्रमण गर्दा केसी समेत सहभागी भएका थिए।
त्यति नै बेला पार्टी बैठकका लागि भारत जाने क्रममा २०६० साल जेठ २० गते पक्राउ परे। त्यसपछि उनी २०६३ साल साउनसम्म झण्डै तीन वर्ष भारतको बक्सर जेलमा बन्दी जीवन बिताए।
तत्कालीन माओवादी शान्ति प्रक्रियामा आएपछि मात्रै केसी जेलबाट छुटेका थिए। जेलबाट छुटेपछि २०६३ सालमा काभ्रेको कामीडाँडा बैठकबाट ‘जनमुक्ति सेना’को तेस्रो डिभिजन कमिसारको भूमिका पाए। तत्कालीन माओवादी ‘जनमुक्ति सेना’ क्यान्टोनमेटमा राखिएपछि वाईसीएलको इन्चार्जको भूमिका पाए।
केसी तत्कालीन माओवादीमा दुईलाइन संघर्ष भएपछि मोहन वैद्यतिर लागे। पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिलाई धोका दिएको भन्दै २०६९ सालमा वैद्यले नेकपा-माओवादी गठन गरेपछि मूल पार्टी एकीकृत माओवादी छोडे।
वैद्यसँग झण्डै चार वर्ष बसेपछि रामबहादुर थापा ‘बादल’सहित उनी फेरि माओवादीमै फर्किए। एमाले–माओवादी तालमेल गरेपछि केसी रोल्पाबाट प्रदेश सभा सदस्य निर्वाचित भए।
तत्कालिन एमाले- माओवादी गठबन्धनमा एमालेबाट शंकर पोखरेल मुख्यमन्त्री भएपछि केसीले माओवादी कोटाबाट आन्तरिक मामिला तथा कानुन मन्त्रीको जिम्मेवारी पाएका थिए ।
तत्कालीन नेकपामा केन्द्रीय सदस्य भएका केसी कानुन मन्त्रीकै जिम्मेवारी सम्हालेर दलको उपनेता थिए। एमाले-माओवादी एकता भत्किएपछि आन्तरिक मामिला मन्त्रीबाट राजीनामा दिएर माओवादीको संसदीय दलको नेता बने ।
मुख्यमन्त्रीबाट शंकर पोखरेलले राजीनामा दिएपछि विपक्षी गठबन्धनको तर्फबाट केसी मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।