बुटवल । पदबाट राजीनामा दिएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नयाँ सरकारलाई सहयोग गर्ने बताएका छन् । मुख्यमन्त्री कार्यालयमा उनले आउने नेतृत्वलाई सहयोग गर्न मुख्यमन्त्री कार्यालयका कर्मचारीलाई आग्रह पनि गरेका छन् ।
मुख्यमन्त्रीका रुपमा कर्मचारीसँगकाे अन्तिम भेटमा पोखरेलले प्रदेश सरकारले हालसम्म गरेका कामरहरुको फेहरिस्त सुनाए । उनले आफ्नो कार्यकालमा सरकारले सडक पूर्वाधार, खानेपानी, शैक्षिक क्षेत्रमा उल्लेख्य सफलता हासिल गरेको दावी गरे ।
सरकारले हालसम्म हासिल गरेका कामहरुले आउने नेतृत्वले पछ्याउन मिल्ने गरी खाका तयार पारेको उनले बताए । उनले भने-'यी यो मेमोरीलाई प्रदेश सरकारका संरचनाले निरन्तरता दिएमा प्रदेश अगाडी बढ्ने छ ।'
उनले प्रदेशले स्थायी राजधानी तोकेर भौतिक पूर्वाधार निर्माणको लागि गुरुयोजना निर्माण भइरहेको बताउँदै यसलाई सरकारको ठूलो सफलताका रुपमा उनले चित्रित गरे । साथै उनले प्रदेशको पूँजीगत खर्च गर्न सक्ने सामार्थ्य बढेर गएको बताए ।