बुटवल-अविश्वासको प्रस्ताव दर्तापछिको कदमबारे निर्णय गर्न नेकपा एमाले लुम्बिनी प्रदेशले संसदीय दलको बैठक बोलाएको छ।
बुधबार बिहान मुख्यमन्त्री निवास मिलनचोकमा संसदीय दलको बैठक बोलाएको सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले जानकारी दिए।
प्रदेश सभा सचिवालयमा मुख्यमन्त्रीविरूद्ध दर्ता भएको अविश्वासको प्रस्तावबारे छलफल गर्न बैठक बोलाएको उनले बताए। दलको बैठकले अविश्वासको प्रस्तावको सामना गर्ने या राजीनामा दिने भन्ने टुंगो लगाउने संकेत उनले गरे।
अल्पमतमा रहेको शंकर पोखरेल नेतृत्वको सरकारसँग एमालेका ३८ सासद छन्। विपक्षमा सभामुखसहित ४२ सासद छन्।
यो अवस्थामा एमालेले अविश्वासको प्रस्तावको सामना गरेमा प्रस्ताव पास हुने देखिन्छ।
तर, एमालेले अविश्वासको प्रस्ताव दर्ता र सदनको विशेष अधिवेशन आह्वान संविधानविपरीत आएकाले सदन बहिस्कार गर्ने सम्भावना पनि छ।
एमालेका केही नेता भने मुख्यमन्त्रीले राजीनामा दिएर नैतिकता प्रदर्शन गर्नुपर्नेमा छन् भने केहीले अविश्वासको प्रस्ताव सामना गर्नुपर्ने बताउदै आएका छन्।
एमाले सासद लिला गिरीले अविश्वासको प्रस्ताव र प्रदेश सभाको अधिवेशन आह्वान संविधानविपरीत भन्दै सर्वोच्चमा मुद्दा दर्ता गरेका छन्।