बुटवल । राष्ट्रिय युवा संघ रुपन्देही जिल्ला कमिटिले जिल्लामा विभिन्न संघसंस्थाहरुलाई वितरण गरिएका खोपको विवरण सार्वजनिक गर्न माग गरेको छ ।
लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठ, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ र जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख राजेन्द्र गिरीलाई एकसाथ ज्ञापन पत्र बुझाउँदै युवा संघले खोपको विवरण सार्वजनिक गर्न माग गरेको हो ।
युवासंघका जिल्ला अध्यक्ष मनोज गौचनद्वारा हस्ताक्षरित विज्ञप्तीमा सरकारले राजनीतिक आस्थाका आधारमा पक्षपात गरी खोप वितरण गरेको आरोप लगाउँदै त्यसको निन्दा गरेको छ ।
तोकिएको मापदण्ड लागु नगरेर विभिन्न तरिकाले खोप वितरण गरिएको उल्लेख गर्दै विज्ञप्तीमा भनिएको छ-"यसलाई अविलम्ब सच्चाई तोकिएको मापदण्ड बमोजिम वितरण गर्न र आम जनतालाई छिटोभन्दा छिटो खोपको व्यवस्था गर्न राष्ट्रिय युवा संघ नेपाल जोडदार माग गर्दछ । साथै हालसम्म विभिन्न संघसंस्थाका लागि वितरण गरिएको खोपको विवरण समेत अबिलम्ब सार्वजनिक गर्न समेत जोडदार माग गर्दछौं ।"
विज्ञप्तीमा मागलाई वेवास्ता गरेमा जस्तोसुकै आन्दोलनमा उत्रिन युवा संघ बाध्य हुने चेतावनी दिइएको छ ।