बुटवल । लुम्बिनी प्रदेश सभाका जनता समाजवादी पार्टीका तीन जना सदस्यको रिटमा सर्वोच्च अदालतले तत्काल अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्चका प्रवक्ता बाबुराम दहालले अदालतले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि भदौ ८ गते छलफलका लागि बोलाएको बताए ।
पार्टीले कारवाही गरेपछि जसपाका सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव र कल्पना पाण्डेयले सांसद पदमा पुनर्वहालीको माग राख्दै रिट दायर गरेका थिए । रिटमाथि न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा आज सोमबार भएको सुनुवाई पछि तत्कालका लागि अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । योसँगै पूर्वसांसदत्रयको सांसद पद तत्कालका लागि जोगिएको छैन ।
निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता दिएपछि पार्टिको निर्णयविपरित सरकारमा सहभागी भएको भन्दै केन्द्रिय समितिले निर्णय गरी यी सांसदलाई कारवाही गरेको थियो ।
तर, मन्त्रीत्रयको सांसद पद सर्वोच्च अदालतकै अन्तरिम आदेशबाट पुनर्बहाली भएको र मुद्दा चलिरहेकाले अहिलेको कारबाही गैरकानुनी भन्दै उनीहरू सर्वोच्च पुगेका थिए ।
अदालतको ले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारलाई धक्का पुग्न सक्ने देखिएको छ । साउन २७ गते आह्वान भएको विषेश अधिवेशनमा पेश हुने अविश्वासको प्रस्तावका विपक्षमा बहुमत जुटाउन अब झनै हम्मे पर्ने देखिएको छ ।