बुटवल । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन रोक्न माग गर्दै पेश गर्न लागिएको रिट सर्वोच्च अदालतले दर्ता गर्न अस्वीकार गरेको छ । लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्ताव छलफलका लागि विपक्षी गठबन्धनले समावेदन दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभाको विशेष अधिवेशन साउन २७ गतेका लागि बोलाएका थिए । उक्त विशेष अधिवेशन रोक्न माग गर्दै सर्वोच्च पुगेका अधिवक्ता प्रवेश केसीको रिट दरपीठ भएको अदालतका प्रवक्ता बाबुराम दाहालले बताए ।
सर्वोच्चका मुख्य रजिष्ट्रार लालबहादुर कुँवरले रिटको प्रकृतिसँग रिट दायर गर्ने व्यक्तिको सम्बन्ध नरहेको भनी दरपीठ गरिदिएका हुन् । सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले रिटको प्रकृति हेर्दा हकदैयाको अभाव देखिएकाले दर्ता गर्न नमिलेको बताए ।
विपक्षी दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र,जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ३४ सांसदको हस्ताक्षरसहितको समावेदनका आधारमा प्रदेश प्रमुख शेरचनले बोलाएको विशेष अधिवेशन सञ्चालन हुने निश्चित देखिएको ।
विशेष अधिवेशनमा मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय हुने छ ।