बुटवल-लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले आफुले संविधानअनुसार सरकारको अवस्थाबारे जानकारी लिएर आगामी कदम चाल्ने बताएका छन्।
विपक्षी गठबन्धनको निवेदन बुझेपछि प्रदेश प्रमुख शेरचनले संविधान, विधि र संवैधानिक परम्परा र सहमतिका माध्यमबाट निष्कर्ष निकाल्ने बताएका हुन्।
उनले भने-'यहाँहरुले मेरो जुन ध्यानाकर्षण गराउनुभएको छ त्यसमा म आफ्नो क्षेत्राधिकार भित्र रहेर संवैधानिक परम्परा, व्यवस्था र सरकार गठनको प्रक्रियाबारे जानकारी लिएर, कानुनविद् र दलहरुसँग छलफल गरेर यसको एउटा निष्कर्ष निकाल्छु, जे हुन्छ संविधानअनुसार नै हुन्छ।'
उनले संविधानभन्दा माथि कोही पनि नहुने दोहोर्याउँदै संविधानअनुसार नै काम हुनुपर्ने बताए। उनले प्रदेश सरकार र मुख्यमन्त्रीलाई आफुले सरकार गठनको प्रक्रिया र अवस्थाबारे छलफल गर्न बोलाएको र आइतबार नै आउने जानकारी पाएको उल्लेख गरेका थिए।
'मैले सरकार कसरी चलेको छ, विपक्षीहरुको यस्तो भनाई रहेछ भन्ने विषयलाई समेत लिएर मुख्यमन्त्रीज्यूलाई छलफलका लागि बोलाएको थिएँ, उनले भनेका थिए-उहाँले आज आइतबारलाई नै समय हुन्छ भन्नुभएको थियो।'