बुटवल । लुम्बिनी प्रदेशका विपक्षी दलहरुले प्रदेश प्रमुख अमिक शेरचनसँग भेटवार्ता गरेका छन् ।
भेटवार्तामा विपक्षी दलका नेताहरुले बर्तमान सरकार अल्पमतको रहेको ध्यानाकर्षण गराउँदै बहुमतको सरकार निर्माणका लागि पहल गर्न आग्रह गर्दै ध्यानाकर्षण पत्र बुझाएका छन् ।
प्रदेश प्रमुख शेरचनलाई बुझाइएको ध्यानाकर्षण पत्रमा भनिएको छ-"सरकारलाई विघटन गरी १६८(२) बमोजिम बहुमतको सरकार निर्माणको लागि मार्ग प्रसस्त गर्न आवश्यक पहलको लागि प्रदेश सभामा प्रतिनिधित्व गर्ने विपक्षी गठबन्धन दलको तर्फबाट माननीय प्रदेश प्रमुख समक्ष विनम्र अनुरोध गर्दछौं ।"
नेपाली कांग्रेसका संसदीय दलका नेता वीरेन्द्र कुमार कानोडिया, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुल प्रसाद केसी, जनता समाजवादी पार्टीका संसदीय दलका नेता सहस्रराम यादव र राष्ट्रिय जनमोर्चाकी तारा जिसीद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा मुख्यमन्त्रीको नियुक्ति हाताहातै भएको, सांसदको किर्ते हस्ताक्षर गरी नियुक्त लिएको, संसदीय पद्धतिलाई अवमुल्यन गरी अध्यादेशबाट बजेट ल्याइएको जस्ता आरोप लगाइएको छ ।
ध्यानाकर्षण पत्रमा भनिएको छ-"संविधानको भावना र प्रदेश प्रमुखको गरिमालाई कमजोर पार्ने र असंवैधानिक प्रणालीमा लाने प्रदेश सरकारको गलत नियतलाई सच्याउनु पर्ने विषयमा ध्यानाकर्षण गर्दछौं ।"