बुटवल । शुक्रबार प्रदेश सभा सदस्यबाट पद मुक्त भएका लुम्बिनी प्रदेशका तीन जना सांसद सर्वोच्च अदालत जाने भएका छन् । शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागि भएको भन्दै जसपाका सन्तोष कुमार पाण्डेय, विजय कुमार यादव र कल्पना पाण्डेयलाई पार्टीको केन्द्रिय कमिटिले कारवाही गरेको थियो ।
सांसद पाण्डेयले यसअघि गरिएको कारवाहीको मुद्धा सर्वोच्चमा बिचाराधीन रहँदारहँदै पनि पार्टीले कारवाही गर्नु अदालतको मानहानी भएकाले सर्वोच्च जान लागिएको बताए । अन्तिम फैसला नआउन्जेल गरिएको कारवाही अबैधानिक रहने भएकाले सांसद पद थमौतिका लागि परमादेशको माग गर्दै अदालत जान लागिएको उनको भनाई छ ।
पार्टीको लुम्बिनी प्रदेश संसदीय दलले गरेको यसअघि बैशाख १६ गते पनि यी तीन र सुमन शर्मासहित चार सांसदलाई पद मुक्त गरिदिएपछि सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै उनीहरुको पद थमौति गरिदिएको थियो । तर, अन्तिम फैसला आउनुअघि नै पार्टिले फेरि तीन सांसदलाई कारवाही गरेपछि सांसदहरु फेरि अदालत जाने भएका हुन् ।
"अदालतमा विचाराधीन मुद्धाको टुङ्गो नलाग्दै फेरि कारवाही गरिनुले अदालतको मानहामी भएको छ", सांसद पाण्डेयले भने,"अदालतको मानहानी र सांसद पद थमौतिका लागि परमादेशको माग गर्दै रिट दायर गर्ने छौं ।"
सांसद पाण्डेयले प्रदेश सभा सचिवालय, पार्टीको केन्द्रिय कमिटि तथा प्रदेश निर्वाचन आयोगलाई विपक्षी बनाई तीन सांसदले संयुक्तरुपमा रिट दायर गर्ने बताए ।