बुटवल । 'हराएकी' भनिएकी लुम्बिनी प्रदेश सांसद विमला वली सम्पर्कमा आएकी छन् । नेकपा माओवादी केन्द्रकी सांसद वली घरमै उपचार गराइरहेकी अवस्थामा फेला परेकी माओवादीका प्रदेश सचेतक तुलाराम घर्ती मगरले जानकारी दिए ।
माओवादीले सांसद वली शुक्रबारदेखि पार्टीको सम्पर्कबाट बाहिर रहेकी बताएको थियो ।
मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिने बताइरहँदा आफ्नो पार्टीको सांसद सम्पर्क विहीन भएपछि मावादीले उनको राजनीतिक अपहरण भएको आरोप लगाएको थियो । जनता समाजवादी पाार्टी (जसपा)ले लुम्बिनी प्रदेश सांसदहरु सन्तोषकुमार पाण्डेय, कल्पना पाण्डेय र विजयकुमार यादवलाई मदमुक्त गरिदिएपछि संविधानको धारा १६८(२) बमोजिम विश्वासको मत लिदा स्पष्ट अल्पमतमा पर्ने देखेपछि नेकपा एमालेले 'अपहरण' गरेको आरोप लगाएका हुन् ।
यसअघि जसपाकै सांसद पूर्मती ढेंगा पनि पार्टीको सम्पर्कबाहिर रहेको जसपाले बताएको थियो ।