बुटवल- सांसद पदमा पुनर्बहालीको माग गर्दै लुम्बिनी प्रदेशका पूर्व माओवादी सांसद दधिराम न्यौपाने र दिनेश पन्थीले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज सुनुवाई हुने भएको छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि ओली पक्षलाई साथ दिएको सांसदद्वयलाई कारवाही गरिएको थियो ।
नेपालको संबिधान र नेकपा माओवादी केन्द्र संसदीय दलको बिधान बिपरित सांसद पथबाट हटाइएको भन्दै न्यौपाने र पन्थीले गत साउन ७ गते अदालतमा रिट दायर गरेका थिए ।
सांसद न्यौपानेले पार्टीको विधान विपरित कारवाही भोग्नु परेकाले अदालत जानु परेको बताए । 'हामीलाई एमालेमा प्रवेश गरेको भनेर पार्टीबाट हटाइएको छ । तर हामीले पार्टी परिवर्तन गरेका होइनौं । नेकपा छुटिनुभन्दाअघि नेकपाका अध्यक्षका रुपमा केपी शर्मा ओलीलाई साथ दिएका थियौं,' उनले भने-'पार्टीको विधानविपरित कारवाही गरिएको छ ।'
उनले जनताले चुनेर पठाएका जनप्रतिनिधिलाई प्रक्रिया नै नपुर्याइ हटाएको जिकिर गरे ।
गत फागुन २३ गते सर्वोच्च अदालतद्वारा नेकपाको अस्तित्व नरहेको भन्दै एमाले र माओवादी केन्द्र ब्यूँताइदिएपछि माओवादी केन्द्रले रुपन्देहीको क्षेत्र नं १ ख र गुल्मीको क्षेत्र नं २ ख बाट निर्वाचित न्यौपाने र पनेथीलाई पार्टीबाट निष्कासित गरेको लुम्बिनी प्रदेश सभालाई जानकारी गराएको थियो ।
सांसदले नेकपा माओवादी केन्द्र,लुम्विनी प्रदेश प्रदेशसभा सचिवालय, लुम्विनी प्रदेशका सभामुख र निर्वाचन आयोगलाई बिपक्षी बनाई रिट निवेदन पेश गरेका छन् ।
निवेदकहरुको तर्फबाट बरिष्ठ अधिवक्ता हरिहर दाहाल, बिजयकान्त मैनाली, सुरेश कुमार महतो, रमेश बडाल र ईश्वर भट्टराईले बहस गर्नेछन् ।