बुटवल । पूर्व माओवादी सांसद टोपबहादुर रायमाझीले आफू एमालेमा प्रवेश नगरेको दावी गर्दै सर्वोच्च अदालतमा सांसद पदमा पुनर्बहालीको माग गर्दै रिट निवेदन दिएका छन् ।
नेकपा माओवादी केन्द्रका पूर्वनेता टोपबहादुर रायमाझीलाई प्रतिनिधि सभा विघटनपछि केपी शर्मा ओलीलाई साथ दिएको भन्दै पार्टीले कारवाही गरेको थियो । बुधबार सर्वोच्च अदालतमा सांसद पद कायम राखिदिन भन्दै दायर गरेको रिटमा रायमाझीले आफू एमालेमा प्रवेश नगरेको दाबी गरेका हुन् ।
सांसद पदबाट हटाएको करिब ४ महिनापछि 'न्याय' माग्दै उनी सर्वोच्च पुगेका हुन् । रिट निवेदनमा उनले आफू नेकपा एमालेमा प्रवेश नगरेको दाबी गरेका छन् । नेता रायमाझीले केपी ओलीले नेतृत्व गरेको नेकपा एमालेमा आजसम्म औपचारिक रूपमा प्रवेश नगरेको र पार्टीको सदस्यता नलिएको बताएका छन् । हालसम्म पनि आफू माओवादी केन्द्रकै नेता रहेको रायमाझीको दाबी छ ।