बुटवल-इटा उद्योगमा कार्यरत मजदुरका छोराछोरीलाई पढाई र अतिरिक्त क्रियाकलापमा रुचि बढाउने भन्दै शैक्षिक र खेलकुद सामग्री प्रदान गरिएको छ।
घर–घरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपाल र ग्लोबल केयरनेश इनिसिटिभद्वारा संचालीत बेटर ब्रिक नेपाल कार्यक्रम अन्तर्गत सैनामैनामा रहेको सोना इटा उद्योेगमा काम गर्ने कामदारका बालबालिकाहरु उक्त सामग्री प्रदान गरिएको कार्यक्रमका सहजकर्ता मनोज गिरीले जानकारी दिए।
बालवालिकाहरुलाई पढाइसंगै अतिरिक्त क्रियाकलापमा प्रोत्साहन होस् र शिक्षा केन्द्रसम्म आकर्षण गर्न सकियोस् भन्ने उद्देश्यले खेलकुद एवम् स्टेसनरी सामाग्री वितरण गरिएको सहजकर्ता गिरीको भनाइ छ।
बेटर ब्रिक नेपाल (बीबीएन) परियोजना अन्तर्गत घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपाल, कपिलवस्तुको सहकार्यमा उक्त उद्योगमा सोना प्ररम्भिक बालबिकाश तथा सिकाइ केन्द्र सञ्चालन गरिएको सो संस्थाका प्रतिनिधि दिवास घिमिरेले बताए।
मजदुरका सन्तानलाई पढाइमा ध्यान दिने वातावरणको विकास गर्नका लागि उद्योगमै प्रारम्भिक बालशिक्षा सञ्चालनमा छ। त्यहाँबाट माथिल्लो कक्षामा अध्यय्न गर्न सैनामैना–६ गढवा स्थित मलमलादेवी माविमा जाने बालबालिकाका लागि बिहीबार उक्त सामग्री प्रदान गरिएको संस्थाका प्रतिनिधि घिमिरेले जानकारी दिए।
यसअघि सोही उद्योगका सञ्चालक विक्रमरत्न बज्राचार्यले करिब ३५ जना बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरेका थिए । सोना इटा उद्योगमा कार्यरत मजदुरका झण्डै ५० परिवार त्यहीँ उद्योग परिसरमा बसोबास गर्दै आएका छन्।
उनीहरुसंगै आश्रित बालबालिकाहरु पनि रहेका छन् । तिनै बालबालिकालाई पठनपाठन, अतिरिक्त क्रियाकलाप र स्वास्थ्यका क्षेत्रमा सहयोगका कार्यक्रमहरु गर्दै आएको बेटर ब्रिक नेपाल (बीबीएन) परियोजना अन्तर्गत घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपाल, कपिलवस्तुका क्षेत्रीय कार्यक्रम संयोजक दुर्गा अर्यालले जानकारी दिए।
यस्तै कार्यक्रमहरुमार्फत नै इटा भट्टाहरु उद्योगका रुपमा रुपान्तरण भएको, बालश्रम मुक्त भएको र गुणस्तरीय उत्पादन गर्ने कामदारमैत्री उद्योगका रुपमा स्थापित भएको क्षेत्रीय संयोजक अर्यालको दाबी छ। प्रदेश ५ का करिब १४ वटा उद्योगमा यसखालको अभियान सञ्चालनमा छ।