गुल्मी -गुल्मी उद्योग बाणिज्य संघको २९ औ साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य महेन्द्र श्रेष्ठले कोरोनाको कहरबाट निचोरिएका उद्योगी व्यावसायीहरु फेरि राजनैतिक द्धन्दको चंगुलमा परेको बताए । ‘कोरोना कहरले धरासायी बनेका व्यावसायीका बिषयमा सरकार बोल्दैन,’उनले भने,‘ त्यसैमाथि राजनैतिक द्धन्दका कारण लगानी सुरक्षित हुने अवस्था छैन् ।’ उनले अस्थिरताका बिषयमा सम्पूर्ण उद्योग व्यावसायीहरु पनि योजनावद्ध रुपमा अगाडी बढ्नुपर्नेमा श्रेष्ठले जोड दिए ।
गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष श्रीप्रसाद भलामीले जिल्लाका उद्योगी व्यावसायीहरुको व्यावसायीक हितमा आफुहरु सधै रहने बताए । सभामा संघका महासचिव तारा भुसालले संस्थाको सांगठनिक र कोषाध्यक्ष इश्वरी प्रसाद बेल्बासेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
गुल्मी उद्योग बाणिज्य संघले सामाजिक र विकासका विभिन्न क्षेत्रमा पनि काम गर्दै आएको उपाध्यक्ष इश्वरी पौडेलले बताए । रेसुंगा क्षेत्रको बिकासका लागि काम गर्दै आएको संघले त्यहाँ पोखरीदेखि यज्ञशालासम्म आर्कषक सिँढीको निर्माण, रेसुंगाको पोखरीमा २७ धारा तथा मैरी निर्माण गरेको उनले जानकारी दिए ।
त्यस्तै रक्त संञ्चार केन्द्र स्थापना र बाढी पहिरो र अन्य विपतमा परेका परिवारहरुलाई सहयोग गर्दै आएको छ । उद्योग बाणिज्यसंघले रेसुंगा नगरपालिका, शहरी विकास तथा भवन डिभिजन कार्यालयको सहकार्यमा चिदिचौरमा मञ्च तथा क्रियापुत्री भवनको निर्माण गरेको वाणिज्य संघका महासचिव तारा भुसालले बताए ।