रुपन्देही- रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थित सृजनशील बाल आश्रममा रहेका बालबालिकालाई कम्बल वितरण गरेको छ। वडा नं ९ मा स्थित आश्रममा रहेका १४ जना बालबालिकाहरुलाई लक्षित गरी एक कार्यक्रमका बीच कम्बल वितरण गरिएको हो ।
कम्बल वितरण कार्यक्रममा वडा सदस्य मिस्सु शाहीले बाल आश्रमले सडक बालबालिकालाई उद्धार गरी मातृत्व प्रदान गरेकाले यस्तो पवित्र कार्यमा सबैको सहयोग आवश्यक हुने बताइन्।कार्यक्रममा क्लबका अध्यक्ष हिराबहादुर शाहले सेवा नै धर्म हो भन्ने भावनालाई आत्मसाथ गरी सहयोग गरिएको बताए । सामाजिक क्षेत्रमा क्लब जहिले पनि सक्रिय रहेको बताउँदै उनले सहयोगी मन भए धनको अभाव नहुने धारणा राखे।
कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष निरु गौतमले स्वार्थभन्दा माथि उठेर अनाथ बालबालिकाका लागि सहयोग गर्नु सहननीय कार्य भएको बताइन् । जाडोको समयमा न्यानो कपडाको अभाव भएको भन्ने जानकारीका आधारमा आश्रममै पुगेर १५ थान कम्बल वितरण गरिएको कार्यक्रम संयोजक गोविन्द ज्ञवालीले जानकारी दिए । समाजमा शिक्षा, स्वास्थ्य तथा आवश्यकता आधारमा सहयोग गर्दै आएको क्लबका सचिव प्रियबन्धु न्यौपानेले बताए ।
चिसो समयमा उद्धार गरी ल्याइएका बालबालिकालाई ओढ्ने कपडाको अभाव भएपछि संस्थाले सामाजिक सञ्जालमार्फत सहयोगका लागि आग्रह गरेको थियो । विगत चार वर्षदेखि अनाथ बालबालिकाको उद्धार, संरक्षण र रेखदेख गर्दै आएको बाल आश्रमले अहिलेसम्म एक सय २१ जनालाई परिवारमा पुर्नमिलन गराएको सृजनशील संस्था नेपालका अध्यक्ष प्रतिमा शर्माले जानकारी दिइन् । आश्रममा ११ महिनाको बालकलेखि १४ वर्षसम्म बालबालिका रहेका छन् ।