गुल्मी – गुल्मीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले शनिबार बिहानै रुद्रवेणीको बृद्धा आश्रममा पुगिन। सुरक्षाकर्मी र संचारकर्मीसहित आश्रम पुगेकी प्रमुख जिल्ला अधिकारीलाई देखेर सुरुमा बृद्धबृद्धा छक्क परे। शर्माले आफुलाई प्रमुख जिल्ला अधिकारी भनेर चिनाइन।
आमाहरुले प्रमुख जिल्ला अधिकारी भनेर बुझेनन्, सिडियो भनेपछि खुसीले सम्मान गरे। उनले आमाहरुको गाह्रो अप्ठ्यारो सोध्न थालिन। कसैले पनि परिवारलाई दोष दिएनन्। सवैले अब आश्रमनै बैकुण्ठ भएको प्रतिक्रिया दिए। आश्रमकी ८३ बर्षीया तुसला पाण्डेयले पहिलो पटक महिला सिडियो देखेपछि आश्चर्य व्यक्त गरिन्। ‘छोरीहरु पनि सिडियो हुने रैछन, मलाई त आफ्नै छोरीले आमा भनेजस्तै भयो बाबु,’उनले भनिन,‘अब हामीहरुलाई पनि केहि न केहि गर्छिन् होला।’
शनिबार बिदाको मौका छोपेर आश्रम पुगेकी प्रमुख जिल्ला अधिकारी शर्माले आमाहरुलाई सामुहिक भोजन र कम्बल वितरण गरिन्। सत्यवति गाउँपालिका १ अस्लेवाको रुद्रवेणीमा रहेको राम मन्दिर तारकेश्वर प्रमानन्द सन्यास आश्रमका ४८ बृद्धबृद्धाहरुलाई सामुहिक भोजन गराएकी थिइन्। साथै जिल्ला बिपद् व्यावस्थापन समितिको तर्फबाट आश्रमलाई १० थान कम्बल प्रदान गरेको सहायक प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भण्डारीले जानकारी दिए।
प्रमुख जिल्ला अधिकारी शर्माले बिदाको दिन भगवान जस्ता बृद्ध बुबाआमाहरुका गुनासा सुन्ने र संगै भोजन गर्ने अवसर पाएकोमा खुसी व्यक्त गरिन्। उनले आश्रममा रहेका बृद्धबृद्धाहरुको स्वास्थ्य अवस्था, परिवारसंगको सम्बन्ध र आश्रमका समस्याको बारेमा पनि अन्तरक्रिया गरेकी थिइन्। शर्माले आश्रमको अवस्था, भेटघाट र छलफलपछि आफुलाई पनि आमाहरुको स्याहार सुसार गर्ने व्यक्तिहरुको अभाव महसुस गरेको प्रतिक्रिया दिइन्।