सैनामैना : पश्चिमको पशुपतिनाथ भनेर चिनिने रुपन्देहीको सैनामैना नगरपालिका वडा नं १ स्थित पर्रोहा बोलबम धाममा संगीतमय सत्सङ्ग कार्यक्रम हुने भएको छ ।
नेपालको एकमात्र स्वयम उत्पत्तिमान शिव ज्योतिर्लिङ्ग मानिने पर्रोहा बोलबम धाममा वुधवारदेखि माघ २१ गतेसम्म संगीतमय सत्सङ्ग कार्यक्रम हुने धामले जनाएको छ ।ऐतिहासिक, धार्मिक, एवम् पुरातात्तिक महत्वको प्रसिद्ध तिर्थस्थलका रुपमा परिचित धाममा धर्म संस्कृतिको संरक्षण संवद्र्धनका निमित्त स्वस्थानी व्रतकथाको अवसरमा सत्सङ्ग कार्यक्रमको आयोजना गरिएकोे धामका अध्यक्ष रामबली चौधरीले जानकारी दिए । उनले सत्सङ्ग कार्यक्रममा प्रत्येक दिन दहि,दुध, ध्यु,उखुको रस लगायत एघार प्रकारका फरक फरक वस्तुबाट ज्योतिर्लिङ्गमा रुद्राभिषेक (पुजा) गरिने बताए ।
सत्सङ्ग कार्यक्रम अन्तर्गत पर्रोहा बोलबम धाममा स्वस्थानि ब्रतकथाको परम्परागत रुपमा दैनिक कथा वाचन, बोलबम भगवानको सन्धयाकालमा विशेष महाआरती, विद्यालय स्तरीय धार्मिक देवलिला परक झाँकी प्रतियोगिता हुनेछन् ।
पण्डित विष्णु ज्ञवालीले कार्यक्रममा राष्ट्रिय स्तरका योगगुरुवाट विहान साढे ५ बजेदेखि साढे ७ बजेसम्म निःशुल्क योग प्रशिक्षण गराइने जानकारी गराए । उनले सत्सङ्ग अवधिभार राष्ट्रिय तथा अन्तरराष्ट्रिय गुरुहरुबाट धर्म संस्कारका वैज्ञानिक फरक विष्लेषण, राष्ट्रिय भजन कलाकार एवम् झाँकी कलाकारबाट भजन तथा झाँकीलिला प्रस्तुत हुने बताए ।
त्यस्तै मन्दिरमा १ लाख ११ हजार बेलपत्र भगवान शिवलिङ्गमा अर्पण गरिनेछ भने १ लाख २१ हजार दुवो भगवान गणेशमा अर्पण गरिनेछ । यसैगरी विहान ९ बजेदेखि रुद्राभिषेक, मध्यान साढे ११ देखि सवा १२ बजे सम्म दैनिक स्वस्थानी पुजन, दिउँसो विद्यालय स्तरीय झाँझी प्रतियोगिता र विद्धान गुरुहरुबाट सत्सङ्ग प्रवचन हुनेछ । साँझ साढे ५ बजेदेखि महाआरती र स्वस्थानी कथा आरम्भ सँगै भजन कृतन हुने धामले जनाएको छ ।
यसैबिच जन्मदिन पर्ने भक्तहरुको हिन्दु परम्पराअनुसार जन्मदिन मनाउने कार्यक्रम समेत हुनेछ । कार्यक्रम माघ २१ सम्म सञ्चालन भएपनि स्वस्थानी व्रतकथा भने १ महिना नै सञ्चालन हुने भएको छ ।वुधवार रानिवगिया र मुर्गिया लुम्बिनी गेटबाट कलशयात्रा निकाल्दै कार्यक्रमको समुद्घाटन हुने धाम व्यवस्थापन समितिका महासचिव प्रेमलाल भुसालले बताए । कार्यक्रमको देवघाट महेश सन्यास आश्रमका स्वामी इश्वरानन्द सरस्वतीले उद्घाटन गर्ने कार्यक्रम छ ।
कोरोना भाइरस संक्रमणको समय भएकोले भक्तजनले अनिवार्य रुपमा मास्क प्रयोग गरी मन्दिरमा आउन प्रचार प्रसार संयोजक अर्जुन प्रसाद आर्य धिमालले अनुरोध गरे । उनले नेपालको सबैभन्दा पुरानो मन्दिर र ऐतिहासिक मन्दिरको विशेष महत्व रहेकोले यस क्षेत्रको प्रचार प्रसारका लागि सबैको साथ आवश्यक रहेको बताए । मंगलबार एक कार्यक्रमको आयोजना गर्दै धामले वुधवारदेखि सुरु हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
पर्रोहा बोलबम धाममा बिशेष गरि साउन महिनाको सोमबारका दिन पहेँलो गेरुवावस्त्र धारण गरि, खाली खुट्टा बोलबमको मन्त्र जप्दै यात्रा गरी धामको शिव ज्योतिर्लिङ्गमा पवित्र गंगाजल अर्पण गरेमा पुण्य प्राप्ती हुने र बाढी पहिरो, नदिकटान, भुक्षय जस्ता प्राकृतिक प्रकोप र बर्षायामा लाग्ने विभिन्न रोग व्याधिबाट मुक्ति मिल्ने जन विश्वास रहेको छ ।
हरेक वर्ष साउन महिनाभर नेपाल र भारतका गरी लाखौँ श्रदालु भक्तजनले जलापर्ण गर्ने गर्दछन् ।