बुटवल-जयसवाल युथ क्लब बुटवल, रुपन्देहीले सिद्धार्थनगर नगरपालिका–५ निवासी रामलखन जयसवालको मृत्युबारे स्वतन्त्र निकायबाट छानबीन गर्न माग गर्दै प्रदेश ५ का मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ।
प्रदेश ५ का मुख्यमन्त्री पोखरेललाई ज्ञापनपत्र बुझाउँदै क्लबले कारागारमा कैद सजाय भुक्तान गरिरहेका व्यक्तिको जीउधनको सुरक्षा र उपचारमा देखिएको शंकामा प्रश्न उठ्नु नागरिकको बाँच्न र उपचार गर्न पाउने अधिकार माथिको हनन भएको भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको छ।
क्लबले मृतक जयसवालको परिवारजनप्रति ऐक्यबद्धता जनाउँदै दोषीलाई कारवाही गर्न परिवारलाई राहत एवं क्षतिपूर्ति दिलाउन समेत माग गरेको छ ।
'जयसवालको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको कारागार प्रशासनले परिवारलाई जानकारी गराएको तर अस्पताल पुगेका परिवारलाई शव हेर्न पनि नदिएको र मृतकको छोरीले लुकिछिपी हेर्दा मृत शरीरमा अनौठा खालका फोकाहरु देखिएको, मुखबाट रगत बगेको र घाँटीमा समेत चोट देखिएको छ, यसले उहाँको स्वभाविक मृत्यु नभएकोमा शंका गर्न सकिन्छ'-क्लबका अध्यक्ष विनोद कुमार जयसवालले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ।
यसबारे कारागार प्रशासन र अस्पतालले पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी गराए पनि परिवारले स्वतन्त्र छानबीनको माग गरिरहेको जससवालले बताए।
‘पूर्व वडाअध्यक्ष समेत रहेका जयसवाल केन्द्रीय कारागार काठमाण्डौमा बन्दी रहेको अवस्थामा अस्वस्थ भई कारागार प्रशासनले वीर अस्पतालमा पुर्याएको र उहाँको अस्वभाविक मृत्यु भएको आफन्तको भनाइले हामीलाई मर्माहत तुल्याएको छ'-ज्ञापनपत्रमा उल्लेख छ।’ ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री पोखरेलले घटनाबारे छानबीन भइरहेको र यसबारे विस्तृतमा जानकारी आएपछि मात्रै वास्तविक कुरा थाहा हुने बताएका थिए।