गुल्मी-गुल्मीको इस्मा गाउँपालिका २ हस्तिचौरको रातचौर स्यालामा गएको पहिरोमा २ जना बेपत्ता भएका छन्।
स्थानीय ३८ बर्षका प्रेम बहादुर कुमाल र उनका छिमेकीका ५ वर्षका बालकलाई पहिरोले पुरेको जिल्ला समन्वय समिति सदस्य राममल्ल ठकुरीले जानकारी दिए।
पहिरोमा परेर एक जना घाइते भएका छन्। रातडाँडा छल्दी पनाहा सडक अन्तरगत स्याला नजिक माथिबाट खसेको पहिरोले मान्छे पुरेको जानकारी आएकाले हस्तिचौर प्रहरी घटनास्थल पठाएको जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी प्रविणलाल श्रेष्ठले जानकारी दिए।
अहिले राती ९ :३० बजेपछि पनि पहिरो गइरहेकाले उद्धारमा समस्या भएको इस्मा गाउँपालिका उपप्रमुख बिमला खत्रीले बताइन्। उद्धारको लागि नेपाली सेनाको टोली पनि घटनास्थलतर्फ हिडेको खत्रीले जानकारी दिइन्।
ठूलो पहिरो खसेको र तलमाथि खोज्दा दुई जना नभेटिएकको घटनास्थलका प्रत्यक्षदर्शी स्थानीय कृष्ण पन्थीले जानकारी दिए।