बुटवल-गुल्मीको रुरु क्षेत्र गाउँपालिकाको वडा नं १ मा रहेको रुरु बजार क्षेत्र रिडीमा कोरोना भाइरसको संक्रमण फैलिनसक्ने जोखिम बढेको भन्दै केही दिनका लागि बजार क्षेत्र शिल गरिएको छ।
गाउँपालिकाले रुरु बजार क्षेत्रलाई मंगलबार बिहानदेखि केही दिनका लागि शिल गर्ने निर्णय गरेको रुरु गाउँपालिका स्वास्थ्य शाखा प्रमुख छत्र बहादुर अधिकारीले जानकारी दिए।
स्वास्थ्यमा समस्या भएर रुरु प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गराउन गएका ७५ वर्षीय पुरुषलाई देखिएका लक्षणमा शंका लागेर बुटवलमा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो।
ती पुरुषमा संक्रमण पुष्टि भएपछि उनको उपचारमा संलग्न ५ जना स्वास्थ्यकर्मी र उनको घरपरिवारसहित घरमा बस्ने ४-५ परिवार सेल्फ आइसोलेशनमा छन्। सम्पर्कमा गएका १५ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने तयारी भएको उनले बताए।
यस्तै रुरु बजार पारीपट्टि पाल्पाको क्षेत्रमा एकजना महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको र कन्ट्याक्ट ट्रेसिङमा सो क्षेत्रका १४ जनाको स्वाब लिइएकोमा मृतक महिलाका श्रीमान् र २ छोरीमा संक्रमण पुष्टि भएपछि रुरुमा सतर्कता अपनाउन शिल गर्ने निर्णय गाउँपालिकाले गरेको हो।
अधिकारीले बजार क्षेत्रलाई मापदण्ड पूरा गरेर सञ्चालन गर्न कठिनाई हुने र संक्रमण थप फैलिनसक्ने भएकाले शिल गर्ने निर्णय भएको बताए।