भैरहवा–भैरहवाको एक सामुदायिक विद्यालयले स्थापना दिवस फरक किसिमले मनाएको छ। विगतका वर्षहरुमा सांस्कृतिकसहित विविध कार्यक्रम गरी मनाउदै आएको भैरहवा क्षेत्रको पूरानो शैक्षिक सस्था रुपन्देही लिलाराम न्यौपाने माध्यमिक विद्यालयले यस वर्ष स्थापना दिवश रक्तदान कार्यक्रम गरी मनाएको हो।
देश कोभिड–१९ संक्रमणमा गुज्रिरहेको बेला रगत अभावमा सहयोग होस् भन्दै विद्यालयले अन्य सबै कार्यक्रम स्थगीत गरी प्राङगणमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो।
साबिक श्री ५ इन्द्र राज्य लक्ष्मी माविको रुपमा रहेको विद्यालयको ६५ औं जन्मोत्सवको उपलक्ष्यमा आयोजित रक्तदान कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनी, नगर शिक्षा अधिकृत जान्हवी पौडेल, अध्ययनरत तथा पुर्ब बिद्यार्थीहरु, शिक्षक, अभिभावक लगायतले रक्तदान गरेका छन्। नेपाल रेडक्रस सोसाइटी रुपन्देहीको प्राविधिक सहयोगमा भएको रक्तदानमा २४ पिन्ट रगत संकलन भएको विद्यालयका प्रचार्य गणेश प्रसाद भट्टराईले बताए।
कोरोना भाइरस महामारी र लकडाउनका कारण उपचाररत सर्वसाधारणमा रगत अभाव भएको पायौं, यस्तो परिस्थितिमा स्थापना दिवश कसरी मनाउने विषयमा छलफल हुदा विषम परिस्थितिलाई सहयोग होस् भन्ने हेतुले रगत अभावलाई मध्य नजर गर्दै रक्तदान कार्यक्रम आयोजना गरिएको प्राचार्य भट्टराईले बताए।
विद्यालयको ६५ औँ अभिभावक दिवश तथा वर्षिकोत्सवको आवसरमा आयोजित रक्तदान कार्यक्रममा मौसम प्रतिकुलले उपस्थिति कम भएपनि कोरोनाको माहामारी र लकडाउनको समयमा पनि रक्तदाताहरुमा उत्साह थियो।
स्थापना दिवशको अरु कार्यक्रम गर्न नसकिने भएकोले रगतको अभावमा सहयोग होस भनेर रक्तदान कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रशासन प्रमुख विकास बस्नेतले जानकारी दिए। कार्यक्रममा इन्ट्रयाक्टीभ क्लब अफ रुपन्देही लिलाराम न्यौपाने मावि र ‘घरघरमा हामी’ले सहयोग गरेका थिए।
विस२०१२ असोज २ गते बालिका विद्यालयको रुपमा स्थापित विद्यालय २०२५ सालदेखि एसएलसी परिक्षामा विद्यार्थीहरुलाई सहभागिता गराउदै आएपनि २०६८ बाट प्लसटुमा नेपाली र अग्रेजी माध्यमबाट शिक्षा प्रदान गर्दै आएको छ। करिब २ हजार विद्यार्थी अध्ययनरत सो विद्यालयले गत सत्रबाट प्रविधिक शिक्षा अन्तर्गत ३ वर्षे डिप्लोमा इन कम्प्युटर इञ्जिनियरिङ्ग कार्यक्रम पनि सञ्चालनमा ल्याएको छ।