भैरहवा-भीम अस्पताल, भैरहवामा थाइराइड परीक्षण सेवा सुरु भएको छ। थाइराइड परीक्षणका लागि नीजि स्वास्थ्य संस्थामा जानुपर्ने बाध्यता हटेको छ। थाइराइड परीक्षण सेवाको शनिबार एक कार्यक्रमबीच प्रदेश ५ सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले शुभारम्भ गरे।
सो अवसरमा बोल्दै मन्त्री बरालले भीम अस्पतालको विकासमा सरकारको ध्यान गएको बताए। उनले मेशिनको सदुपयोग गरी बढी भन्दा बढी नागरिकलाई अस्पतालले सेवा दिनुपर्ने बताए। सरकारी अस्पतालमा मेशिन चांडो विग्रन्छ भन्ने कुरा आउँछ, मेशिन अन्य स्थानमा पनि विग्रन्छ, तर पनि यसको व्यवस्थापन र मर्मतमा ध्यान दिए नागरिकलाई सेवा दिन सकिन्छ, मन्त्री बरालले भने।
भीम अस्पतालका प्रमुख मेडिकल सुपरीटेण्डेण्ट डा. नविन दर्नालले बढी भन्दा बढी नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउन लागिपरेको बताए। उनले यस अघि अस्पतालमा २४ घण्टे ल्याब सेवा, फार्मेसी सेवा, बालरोग विशेषज्ञ सेवा लगायतको सेवा सञ्चालन गरिरहेको जानकारी दिए।
मेशिनबाट एक घण्टामा १८० वटा परीक्षण गर्न सकिने अस्पतालका ल्याब इञ्चार्ज आशिष श्रेष्ठले बताए। उनले मेशिनबाट पाठेघर, स्तन क्यान्सरको स्क्रिनिङ समेत गर्न सकिने जानकारी दिए। त्यसै गरी एचआइभी, हेपाटाइटिस बी लगायतको परीक्षण गर्न सकिने बताए । मेशिनमार्फत नवजात शिशुमा स्वास्थ्य समस्या भए/नभएको जानकारी पाउन सकिने उनले बताए।
३५ लाखको लागतमा थाइराइड परीक्षणको लागि मेशिन खरीद गरिएको अस्पतालका प्रवक्ता गोपाल उपाध्यायले बताए । व्यवस्थापकीय सुधारसँगै अस्पतालको सेवाको गुणस्तर बढाइएको उपाध्यायले बताए।