दमाैली : आज असार २९ गते आदिकवि भानुभक्त आचार्यको जन्मयजन्ती । विसं १८७१ असार २९ गते तनहुँको भानु नगरपालिकास्थित चुँदी रम्घामा जन्मिएका भानुभक्तको नाम नेपालमा मात्र होइन विश्वभर प्रख्यात छ ।
भानु जयन्तीको दिन देशभित्र तथा देशबाहिर पनि विविध कार्यक्रम हुँदै आएका छन् । तर आफ्नै जन्मथलोमा भानुभक्त उपेक्षित छन् । भानु जयन्तीको अवसरमा उनकाे जन्मथलोमा खास विशेष कार्यक्रम हुँदैन ।
सामान्य कार्यक्रम गरेरै भानुजयन्ती मनाइँदै आएको छ । विगत वर्षदेखि त भानु जन्मस्थल विकास समिति नेतृत्वविहीन अवस्थामा पुगेको छ ।
भानुभक्तको योगदानको कदर गर्दै चुँदीरम्घालाई साहित्यिक तीर्थस्थल बनाउने भनेर योजना बनाइए पनि कार्यान्वयन नभएकोमा स्थानीयवासी खुशी छैनन् । भानुजयन्तीको दिन औपचारिकता निभाउने बाहेक यस ठाउँमा अन्य कुनै कार्यक्रम आयोजना भएका छैनन् ।
भानुभक्तको जन्मगाउँ अहिले संरक्षणको पर्खाइमा छ । सरकारले भानु जन्मस्थलको विकासका लागि विसं २०५२ मा भानु जन्मस्थल विकास समिति गठन गरे पनि सरकार परिवर्तनसँगै समितिको नेतृत्व पनि परिवर्तन नहुँदा देखिनेगरी काम हुन नसकेको स्थानीयवासी रिदम आचार्यले बताए ।
नजिकैको तीर्थ हेला भने झै भानुभक्तको जन्मथलो उपेक्षामा परेको उनकाे गुनासो छ । “अहिले त अझ जन्मस्थल समितिविहीन अवस्थामा पुगेको छ, देश तथा विदेशमा भानुभक्तको चर्चा छ, तर आफ्नै जन्मथलोमा उपेक्षा बाहेक अरु केही छैन”, उनले भने ।
साहित्यिक पर्यटकीय विकासको सम्भावना बोकेको भानुभक्तको जन्मस्थललाई राजनीतिबाट टाढा राख्न सक्नुपर्ने स्थानीयवासी एवं भानु जन्मस्थल विकास समितिका पूर्व अध्यक्ष श्रीभक्त आचार्यले बताए ।
“एउटा सरकार हुँदा गरेको निर्णय अर्को सरकार आएपछि प्रभावित हुन्छ, त्यही कारण आजसम्म यस ठाउँको विकास हुन सकेको छैन”, उनले भने । भानु जन्मस्थल विकास समितिका पूर्व कार्यकारी निर्देशक शङ्कर रानाभाटले गत वर्षदेखि जन्मस्थल विकास समितिलाई कुनै पनि बजेट विनियोजन नभएको जानकारी दिए ।
“पहिला सङ्घीय सरकार मातहत रहेको जन्मस्थल गत वर्षदेखि स्थानीय सरकार मातहत राखियो, त्यसभन्दा अगाडि आउने बजेट पनि कर्मचारीलाई तलब खुवाउन मात्रै ठिक्क हुन्थ्यो, अहिले त झन् बजेट नै छैन,” उनले भने ।
उनले शुरुमा जति महत्वका साथ समिति गठन गरिएको थियो सरकारले चासो नदिएपछि समितिले काम गर्न नसकेको बताए ।
“बजेट अभावले नै केही काम गर्न सकिएन, आएको थोरै बजेट कर्मचारीको तलब भत्तामै सकिन्छ, कर्मचारीले तलबबापतको रु ४५ लाख अझै पाएका छैनन्”, उनले भने । रासस