एउटा सानो गाउँको कुरा हो । जहाँ एकजना बुढीआमा पनि बस्छिन् । उनका दुई केटाकेटी छन् । एउटा १७ वर्षको, अर्की १४ वर्षकी ।
उनी खाना पस्कदैछिन् र उनको अनुहारमा चिन्ताका गाढा रेखा स्पष्ट देखिएका छन् । केटाकेटीले के भयो ? भनेर सोध्छन् । उनी भन्छिन्,‘मलाई थाहा छैन । तर किन किन यो गाउँमा केही नराम्रो हुन्छ जस्तो लाग्न थालेको छ । धेरै नराम्रो हुन्छ होला । यही चिन्ताले राति निद्रा पनि राम्ररी परेन ।’ आमाको कुरा सुनेर छोराछोरी हाँस्छन् ।
भनिन्छ, जे हुनेवाला छ त्यसको पूर्वाभास बूढाबूढीलाई हुन्छ । छोरो गाउँको एक मात्र पूल सेन्टरमा पूल खेल्न जान्छ । एउटा निकै सजिलो बल प्वालमा खसालेर जित्नै लागेको बेला अर्को खेलाडीले प्वाक्क भनिदिन्छ, ल एक पेसो (कोलम्बियाली मुद्रा) बाजी भो, तैले यो बल छिराउन सक्तैनस् । वरिपरीका सबैजना हाँस्छन् । ऊ पनि हाँस्छ । बललाई लठ्ठीले ठेल्छ । नभन्दै बल प्वालमा छिर्दैन । बाजीको एक पेसो तिर्छ ।
सबैजनाले एकचोटि सोध्छन्, के भयो हँ, तलाई ? त्यति सजिलो बल पनि नछिराएको ?
ऊ भन्छ, खै , के भो के भो । आज बिहान आमाले ‘यो गाँउमा धेरै नराम्रो हुनेवाला छ’ भन्नुभएको थियो, मेरो मनमा पनि त्यही कुरा खेलिरहेको थियो ।’
सबैजना उसको कुरा सुनेर हाँस्छन् । बाजी जित्ने केटो आफ्नो घर फर्कन्छ, जहाँ उसकी आमा र परिवारका सदस्य छन् । एकजना छिमेकी महिला पनि आइपुगेकी हुन्छिन् ।
पेसो देखाउदै केटो भन्छ,‘मैले दामासोसँग सजिलै बाजी जिते, किनभने त्यो मुर्ख हो ।’
‘कसरी ?’
‘उसले असाध्यै सजिलो बल पनि छिराउन सकेन । किन त भने, उसकी आमालाई यो गाँउमा धेरै नराम्रो हुन्छ भन्ने लागेको छ रे, अनि त्यो कुरा उसको दिमागमा खेलिरहेको थियो अरे ।’
केटाकी आमा भन्छिन्, ‘बूढाबूढीका कुरालाई ख्यालठट्टा नठान् है । कहिलेकाही त साँचो पो हुन्छ त ?’
छिमेकी महिला एकछिन पछि उठेर हिड्छिन् । उनलाई मासु किन्न जानुछ । बगरेकहाँ पुगेर भन्छिन्, ‘मलाई एक किलो मासु देऊ त । होइन, दुई किलो नै तौलिदेऊ । गाउँमा धेरै नराम्रो हुनेवाला छ भन्ने सुन्दैछु, के हो के हो ।’
बगरेले उनलाई मासु दिन्छ । त्यसपछि मासु किन्न आएकी अर्की बूढी महिलालाई भन्छ, ‘तपाई पनि दुई किलो नै लैजानोस् है, किनभने, मानिसहरु गाउँमा धेरै नराम्रो हुनेवाला छ भनेर सरसामानको जोहो गर्दैछन् ।’
बूढी महिला भन्छिन्, ‘मेरा त धेरै बालबच्चा छन् । यसो गर, मलाई चार किलो मासु तौलिदेऊ ।’
उनी चार किलो मासु लिएर जान्छिन् । कथा नतन्काउने हिसाबले भनिदिन्छु,–बगरेको जम्मै मासु आधा घण्टामा सकिन्छ ।
ऊ अर्को गोरु काट्छ । त्यो पनि एकछिनपछि सफाचट हुन्छ र गाउँमा नराम्रो हुने हल्ला तीव्र गतिमा फैलिदै जान्छ ।
यस्तो समय आउछ, जव सबै गाउँले गाउँमा केही हुने प्रतिक्षा गर्न थाल्छन् । उनीहरुका गतिविधि मानौ पक्षघातले थलिन्छन् ।
एकदिन दिउसो दुई बजेपछि, सधै झै गर्मी फर्किन्छ । कसैले भन्छ, ख्याल गरेको हो कस्तो गर्मी छ आज ?
त्यसो त त्यो गाउँमा सधै चर्को गर्मी कस्तो भने ढोलवालाहरुले ढोललाई मोटो कपडाले छोपेर राख्थे र छाँयामा राखेर बजाउथे ।
किनभने, घाममा निकाल्दा ढोल नै पग्लिन थाल्थ्यो । कुरै नगर, अर्को कसैको बोली सुनिन्छ–यस्तो गर्मी त कहिल्यै भएको थिएन ।
तर दिउसो दुई बजे त बढी गर्मी हुने बेला नै हो नि होइन र ।
हो । तर अहिले जति गर्मी त होइन नि ।
सुनसान जस्तो लाग्ने गाउँको चकमन्न खुला डबलीमा अकस्मात एउटा सानो चरो कतैबाट आएर बस्छ ।
कसैले भन्छ, डबलीमा एउटा चरो आएर बसेको छ । गाउँभरि त्यही हल्ला फैलिन्छ ।
सिंगो गाउँ डरले काम्दै त्यो चरा हेर्न हिड्छ ।
एक जनाले भन्छ, साथीहरु, चरा त डबलीमा सधै आउँथे नि, होईन र ?
थुप्रैले तुरुन्तै उसलाई छोप्छन्, तर यसबेला कहिल्यै आउदैनथे ।
गाउँलेहरुका बीच तनावको यस्तो क्षण आइपुग्छ, जब हरेक व्यक्ति गाउँनै छोडेर हिड्नका निम्ति बेचैन हुन्छ, तर त्यसो गर्ने साहस जुटाउन सक्तैन ।
म मा छ हिम्मत–अकस्मात कोही चिच्याउँछ । म त हिडे ।
आफ्ना सरसामान केटाकेटी र जनावरलाई एउटा ट्रकमा हालेर ऊ त्यही बाटोबाट हिड्छ ।
अरु सबैले उसलाई हेरिरहेका हुन्छन् ।
यसैबीच अरुले पनि भन्न थाल्छन्, त्यो त गाँउ छोडेर हिड्न सक्छ भने हामी किन नसक्ने ?
हामी पनि हिडछौँ ।
साच्चै सबैजना क्रमशः गाउँ छोडेर हिड्न थाल्छन् । परिवार, सरसामान वस्तुभाउ सबै लिएर ।
सबैभन्दा पछिल्लो समूहमा रहेको एउटालाई लाग्छ, कतै यो अभिशापको असर मैले घर घरमा छोडेका सामान माथि परेर त्यसले मलाई नपछ्याओस् ।
के हो के हो ।
अनि उसले आफ्नो घरमा आगो लगाइदिन्छ, त्यो देखेर अरुले पनि आ–आफनो घरमा आगो लगाउछन् र भयंकर अस्तव्यस्ततासँग यसरी दुगुर्न थाल्छन्, मानौ कुनै युद्धका लागि प्रस्थान गरिरहेका छन् ।
गाउँ छोडेर हिड्नेहरुको जत्थामा अनिष्टको पूर्वाभास गर्ने ती वृद्धा महिला पनि मन्द गतिमा पाइला चाल्दै हुन्छिन् ।
उनी भन्छिन्, ‘मैले त भनेकै थिएँ नि, हाम्रो गाउँमा धेरै नराम्रो हुनेवाला छ भनेर, तर त्यसबेला मलाई कसैले पत्याएनन्, उल्टै बौलाहीसम्म भने ।’
नोबेल पुरस्कार बिजेता कोलम्बियाका साहित्यकार गाब्रियल गार्सिया मार्खेज (१९२७-२०१४) द्वारा लिखित कथाको नेपाली अनुवाद शिक्षक मासिकबाट साभार गरिएको हो ।