करिब २० दिन पहिला बाणगंगा सहित्यिक प्रतिष्ठान नेपालको निम्तो आयो । बाणगंगा साहित्यिक प्रतिष्ठानमा अध्यक्ष साहित्यकार कृष्णप्रसाद पाण्डेले चैत्र ११ गते शनिबारको दिन प्रमुख अतिथिको रुपमा कपिलधामममा हुने स्रष्टा सम्मान तथा रचना वाचन कार्यक्रममा निमन्त्रणा गरे ।
म लुम्बिनी वाङमय प्रतिष्ठानका कुनै पनि कार्यक्रममा प्रमुख अतिथि बन्दिन । आफ्नै घरमा आफै अतिथि बस्नु हास्यास्पद हुन्छ । त्यसमा हामी अवैतनिक तथा स्वयंसेवकहरु पोर्टफोलियोका आधार खडा गरेर विभेदको कर्द चलाउँदै लाठसाप बन्नु हुँदैन । यो सामन्ती प्रचलन हो । मलाई प्रमुख अतिथि बन्न रहर पनि लाग्दैन । यो अहं तुष्टिको सबाल हो जस्तो लाग्छ । बिचमा स्वास्थ्य उपचारको लागि काठमाण्डौतिर जानु पर्ने थियो । तै पनि कपिलधाम कर्मथलो बन्यो । त्यहाँ धेरै जिम्मेवारीहरु जोडिएका छन् । त्यसैले त्यहाँबाट आएको निमन्त्रणालाई अस्वीकार गर्न सकिन । मैले हुन्छ भनें ।
कपिलवस्तु साँस्कृतिक राजधानी हों । सांस्कृतिक वैभवका दृष्टिले यो अत्यन्त उर्बर थलो हो । पुराणकालीन र ऐतिहासिक पुरातत्वका साक्ष प्रमाणहरुले यो जिल्लाको महिमा नेपालभर फैलिएको छ । कपिलवस्तु जिल्लाको कपिलधाम साँख्य दर्शनका प्रवर्तक कपिलमुनिको तपस्थली धाम हो । यस धामको महिमा र मूल्य नित्य निरन्तर बढिरहेको छ । यहाँको सम्बन्ध पतन्जलि तथा बुद्धसँग पनि जोडिएको छ । पुराणकालीन राम, लक्ष्मण र राबणसँग जोडिएको छ । त्यस लगायत थुपै ऋषिमहर्षिको तपस्थलीको रुपमा चिनिन्छ ।
म त्यो थलोमा सत्तरीको दशकदेखि जोडिएको छु । त्यसर्थ त्यो हाम्रो थलो हो । जीवनको उत्तरार्धमा कपिलधाममा साहित्यकार प्रा.डा. विष्णुराज आत्रेय लाटो साथी, र हिमलाल ज्ञवाली जोडिनु भएको थियो । अहिले उहाँहरु यो संसारमा हुनुहुन्न । उहाँहरुको रिक्तता पूरा गर्ने काम र कर्तव्यको जिम्मेवारी आफ्नो काँधमा बोकेर हरिराज शर्माहरु लागिरहुन भएको छ । यो क्षेत्रमा थुप्रै प्राज्ञहरु आउनु भएको छ । थुप्रै राजनीतिज्ञहरु आउनु भएको छ । सबैको ध्यान कपिलधामतिर तानिएको छ ।
हाम्रो कर्म थलो हो । हामीले प्रमुख अतिथिको निम्तोलाई भन्दा पनि बाणगंगामा आइरहेको उत्तरोत्तर साहित्यिक अभियानलाई मलजल गर्नुपर्छ । त्यो धेरै पहिलादेखि नै सक्रिय संस्था हो । पहिलोपटक म ज्ञानप्रसाद अर्याल अध्यक्ष हुँदाको समयमा देवकोटा जयन्तीमा पुगेको थिएं । बिच बिचमा नित्यानन्द पाण्डेले निमन्त्रणा गरिरहन्थे । हामी जान्थ्यौं । म प्रायः संस्कृतिविद राजेन्द्रकुमार आचार्यका साथ गइरहन्थें । मलाई त्यता जान रमाइलो लाग्थ्यो । आज पनि लागि रहन्छ ।
म सार्वजिनक गाडीमा हिंड्छु । धेरै साथीले सुविधाका गाडीहरु खोज्छन् । हामीलाई सुविधाका गाडीमा खर्चले थेक्दैन । आज पनि म कृष्णनगरतिर जाने गाडीमा त्यतातिर लागें । ज्योतीष कृष्णप्रसाद पाण्डेले बिच बिचमा कहाँसम्म आउनु भयो भन्दै फोन गर्थे । म ठीक समयमा पुग्ने चेष्टा गरेर दौंड्दै थिए । अनि ऋषि भारद्वाजलाई फोन गरें । आउनुस् सँगै जाउँला भन्नु भएको हुनाले म चप्परगाउँस्थित भारद्वाज आश्रममा ओर्लें । छन्द अभियन्ताको रुपमा मुलुकभरि पहिचान बनाएका ऋषि भारद्वाजले छन्द साहित्यमा सैद्धान्तिक लेखन तथा छन्द सााहित्य रचना गरेका छन् । छोरी जोशिका कँडेल र कमला कँडेलका साथ म कपिलधाम पुगें । कपिलधाममा निष्काम कर्मयोगीको रुपमा पहिचान बनाएका शंकरप्रसाद आचार्य स्वागतको लागि बाहिर नै उभिएका थिएं । हामीले भावनात्मक नमस्कार साटासाट ग¥यौं । कृष्ण पाण्डे र नित्यानन्द पाण्डे पनि टुप्लुक्क देखा परे ।
विस्तारै धेरै साथीहरु आउन थाले । आकास बादलमय थियो । गर्मी थिएन, न त जाडो । प्राकृतिक वातावरण अनुकूल थियो । हल्का पानी परेको हुनाले धूलो थिएन । तर पनि पानीका कारण निमन्त्रित सबै स्रष्टा तथा द्रष्टाहरु आउन सक्नु भएन । करिब ५० जना बराबरको उपस्थिति थियो । कार्यक्रम तयारी पूर्ण हुँदै थियो । मोहन अधिकारी रजिष्टर लिएर अगाडि बढ्दै थिए । कार्यक्रम थालनी भयो । कार्यक्रममा मेयर चक्रपाणि अर्याल ठीक समयमा आइपुगे ।
अहिले बाणागंगामा साहित्यको छाल आएको छ । प्रदेशभरकै विभिन्न स्थानहरुभन्दा बाणगंगामा निकै धेरै कार्यक्रम हुन्छन् । साहित्य भनेपछि हुरुक्क हुने मनकारी स्रष्टाहरुले साहित्य साधना र कृति प्रकाशनमा तँछाडमछाड गरिरहेका छन् । उनीहरुको त्याग देख्दा आश्चर्य लाग्छ । मु्लुकभरकै आकर्षणको थलो बनेको साहित्य तीर्थ त्यही छ । त्यसमा पौराणिक ऐतिहासिक, आधुनिक स्वर्गीय स्रष्टाहरुका प्रतिमूर्तिहरु राखिदै छन् । अहिले २२ वटा पु्गेका छन् । निकट भविषयमा ३ वटा स्रष्टाहरुका शालिकहरु स्थापना हुँदैछन् । एउटा विश्वेश्वरप्रसाद कोइरालाको रहनेछ भने अर्को मोतिराम भट्टको रहनेछ । अनि स्वर्गीय विष्णुराज आत्रेयको पनि तयारी चलिरहेको छ । यो कपिलवस्तुको लागि गर्वको विषय हो । आगामी एक डेड दशकमा १०८ प्रतिमूर्तिहरु राखिनेछन् ।
त्यही बिचमा बाणगंगामा आएको साहित्यिक जागरण र सघन प्रकृतिका कार्यक्रमहरु देख्दा मेयर चक्रपाणि अर्यालसँग बाणगंगा प्रज्ञा प्रतिष्ठान खोल्नु पर्ने कुरा साहित्यकार सूर्यप्रसाद भुसाल र मैले ग¥यौं । उनले यो विषयलाई सकारात्मक रुपमा लिए । सिङगो बाणगंगाको पर्यटक तथा साँस्कृतिक स्थलहरुको एकमुष्ट ग्रन्थ निकाल्नु पर्ने महशुस भयो । त्यसै बिचमा हामीले नवलपरासी बर्दघाट नगरपालिकाको नमुना ऐन हे¥यौं । कृष्णप्रसाद पाण्डेका सुपुत्र प्राध्यापक इन्द्रमणि पाण्डेले उक्त पिडिएफ चक्रपाणि अर्यालको मोवाइलमा डाउनलोड गरी दिए । सकेसम्म हरेक कार्यक्रममा जान रुचाउने थोरै बोल्ने धेरै काम गर्ने नेताको रुपमा पहिचान बनाएका मेयर चक्रपाणि अर्याल असाध्य सरल छन् । उनले उक्त काम गर्ने संकेत दिएका छन् । अभियानमा प्रतिपक्ष सत्ता पक्षलाई सहज रुपमा हिंडाउने कला उनमा छन् । त्यसैले त बाणगंगामा निकै ठूलो तरक्की भएको छ ।
मोहन अधिकारीले उद्घोष गर्न थाले । उनी राम्रो उद्घोषकका साथ कलात्मक गद्य कविता लेख्न सक्ने स्रष्टा रहेछन् । उनले कार्यक्रमको प्रारम्भमा गरिने सबै औपचारिक प्रक्रिया पूरा गरे । कार्यक्रमको उद्घाटन चक्रपाणि अर्यालले गरे । संस्कृत विद्यापीठका ब्राह्मणबटुकहरुबाट स्वस्ती वाचन भयो । स्वागत भाषण देवका भण्डारीले गरिन् । स्वागत कविता बाल साहित्यकारको रुपमा मुलुकभर चिनिन सफल साहित्यकार जोशिका कँडेलले गरिन् ।
कार्यक्रममा मेयर चक्र अर्याल, कपिलधामका अध्यक्ष शंकरप्रसाद आचार्य, साहित्यकारहरु हरिराज शर्मा, पशुपतिमणि त्रिपाठी, दीलिप कार्की, पुनाराम गिरी, इन्द्रप्रसाद कोइराला, आत्माराम आचार्य, नित्यानन्द पाण्डे, सूर्यप्रसाद भुसाल, कुलराज पौडेल, ज्ञानराज अर्याल, ऋषि भारद्वाज, कृष्णप्रसाद घिमिरे, बिनिराम पौडेल, रामचन्द्र पौडेल, ज्ञानप्रसाद पाण्डे, बाबुराम रायमाझी, अनन्तराज रेग्मी, हरिलाल पाण्डे, गणेशमान थारु, बाबुराम भण्डारी, चुरामणि पौडेल, शेषकान्त भट्टराई, इन्द्रमणि पाण्डे, प्रकाश भुसाल, देवका भट्राई जोशिका कँडेल, कमला कँडेल, लक्ष्मी पन्त, कृष्णप्रसाद न्यौपाने, लक्ष्मी पाण्डे, सुविधा पाण्डे, सरस्वती पाण्डे, हेमकला कँडेल, हेमकला पराजुलीलगायतको उपस्थिति थियो । यी नामहरुमध्ये केही आउन पाउनु भएन ।
कार्यक्रम समतलीय भयो । कार्यक्रममा सबैलाई सम्मान पूर्वक पहिचान दिएर आतीथ्यता दिइयो । यस्ता कार्यक्रमले सब स्रष्टा द्रष्टालाई आत्म सम्मान दिन्छ । सग्ला सग्ला अग्ला अग्ला व्यक्तिहरुलाई छानेर सम्बोधन गर्ने अरु कमजोर व्यक्तिहरुलाई नामै नलिएर गुहु र गोबर बनाउने र मान्ने सामन्ती प्रथाको ढाड भाँची दिनु पर्छ । मालिकहरु माथि बस्ने र अरु तल बस्ने मन्च प्रणाली ताडिदिनु पर्छ । त्यहाँ माथि र तलको व्यवहार भएन । समतलीय बसाई बसियो । यो सुन्दर परिवर्तन हो । अब कार्यक्रमहरु सकेसम्म राउण्ड टेबलमै नै बस्नु पर्छ । अपमान र विभेद हटाउनु पर्छ ।
कार्यक्रममा केही लब्ध प्रतिष्ठित व्यक्तित्वहरुलाई सम्मान गर्ने कार्यक्रम थियो । हुनत लोकतन्त्रमा सम्मान सबै नागरिकलाई बराबर हो । समाजमा विशिष्ट काम गरेर अतिरिक्त योगदान दिनेहरुहरुलाई खादा, माला र प्रमाण पत्र दिएर अतिरिक्त सम्मान गरिन्छ । त्यो नै अभिनन्दन, पुरस्कार र सम्मान हो । ती व्यक्तित्वहरुमा योग गुरु आत्माराम आचार्य थिए । झण्डै असी वर्ष पुगेका शान्त योगगुरु आचार्यका दुईवटा सुन्दर कृतिहरु प्रकाशित भएका छन् । त्यसरी नै छन्द अभियन्ता पूर्वीय योग तथा चिकित्सा विज्ञानका साधक ऋषिकेशव भारद्वाज पनि सम्मानित भए । उनका आधा दर्जन जति कृतिहरु प्रकाशित भएका छन् । छन्द अभियन्तामा उनी राष्ट्रिय तहमै गनिन्छन् । त्यसरी नै योग साहित्यकार पुनाराम गिरीलाई हार्दिक सम्मान गरियो । उनले पनि आधा दर्जन जति सुन्दर र उपयोगी कृतिहरु प्रकाशन गरेका छन् । सबै अभिनन्दित स्रष्टाहरुले आफूहरु सम्मानित भएकोमा बागागंगा साहित्यिक प्रतिष्ठानलाई धन्यवाद दिदै साहित्यिक श्रीबृद्धमा निरन्नतर लाग्ने प्रण गरे ।
कार्यक्रममा साहित्यकार सूर्यप्रसाद भुसालले शब्द ब्रह्मको खेती गर्ने सबै स्रष्टाहरुलाई सम्मान गर्दै साहित्यले निराशा र पलायनलाई रोक्दै आशा जगाउँछ र आनन्द दिन्छ भन्दै सिर्जनामा लाग्न अनुरोध गरे । अर्का निष्काम कर्मयोगी शंकरप्रसाद आचार्यले कपिलधाममा साहित्यिक गतिविधिको लागि आफूहरु तयार रहेको र यहाँ बनेका र बन्न लागेका भौतिक संरचनाहरुले साहित्यको विकासमा अनुकूलता थपेको बताएका छन् । अर्का वक्ता नित्यानन्द पाण्डेले बणगंगा साहित्य प्रतिष्ठाले सम्मान गरेका स्रष्टा त्रय आत्मराम, ऋषिराम र पुनारामको जीवनी र योगदानको विषयमा प्रकाश पारेका थिए । कार्यक्रमका अध्यक्ष ज्योतीष कृष्ण पाण्डेले हाम्रो कार्यक्रमको विस्तार बाणगंगामा मात्र सीमित नभई कपिलवस्तुभर फैलिएको छ । यो संस्था हरेक मावि र क्याम्पसहरुमा साहित्यिक प्रशिक्षण दिदै हिंडेको बताए ।
यस कार्यक्रममा कविता वाचनमा लक्ष्मी पन्त, इन्दु पौडेल, राधा पाण्डे, रामचन्द्र पौडेल, कमलाकुमारी शर्मा, कृष्णप्रसाद न्यौपाने, मोहन अधिकारीले छन्दबद्ध र स्वच्छन्द प्रकृतिका मनोहर कविताहरु वाचन गरे । उनका कविताहरुले श्रोताहरुलाई राम्रो प्रभाव छेड्यो । कपिलधाम धप्प बल्यो । बटुकहरुको स्वस्तीवाचनको वैदिक ध्वनिले कपिलधाम पवित्र भयो । चरचुरुङगीहरुले पनि धैर्य भएर कविका सुमधूर आवाजहरु सुन्न थाले । उता मूर्तिमान कविहरु सुमधूर स्वरले मुस्कुराएको आभास भयो । काव्य प्रभावले पोखरीमा पानी तरङिएको थियो । कोइली खोलाको पानी बग्न छोडेर एक टक लगाएर कविता सुन्दै थियो । गाईहरु शान्तपूर्वक उभिएर त्यतै फकिएर पाउरी लाउँदै श्रवण गर्दै थिए । त्यहाँको सिङगो प्रकृति उल्लासमय बनेको थियो । यो तपस्थलीमा बस्दा हामीलाई अर्कै आनन्द आउँछ । मैले मनमनै भने— जय कपिलधाम !!
अन्त्यमा कार्यक्रम ढाई बजे नै समापन भयो । सबै स्रष्टा द्रष्टाहरुसँग बिदा लिएर म र पूर्व अध्यक्ष नित्यानन्द पाण्डे कपिलधामबाट बाँणगंगा साहित्यिक प्रतिष्ठानका अध्यक्ष कृष्ण पाण्डेको घरमा पुग्यौं । नित्याननद कृष्णप्रसाद पाण्डेका सहोदर भाइ हुन् । साहित्यको श्रीवृद्धिमा दुबै भाइको योगदान निकै महत्वपूर्ण रहेको छ । साहित्यको विकासमा कृतिहरुसहित योगदान दिएका साहित्यकार कृष्णप्रसाद पाण्डेको घरमा उहाँको जीवन संगिनी, छोराबुहारी र दुई नाति नातिनीहरुसँग एकछिन बसेर महेन्द्र राजमार्गबाट हाइस पक्रेर बुटवलतिर आएं । आजको दिन उपलब्धिमूलक भएको महशुस गरें । हरेक दिन उपलब्धिको मापन गर्नुपर्छ । कहिलेकाहीं दिनहरु सित्तैमा बितेकोमा अत्यन्त दुःख लाग्छ । सकेसम्म हामी सबैका दिनहरु उपलब्धिमय रहून् । यो हाम्रो कामना हो । गाडी गुड्यो । त्यसै बीच अध्यक्ष कृष्णप्राद पाण्डे र नित्यानन्द पाण्डेको बिदाईका हातहरु हल्लिए । दुई भाइ उभिएर गरेको बिदाईको त्यो आत्मीय बिम्ब आज पनि दिमागमा नाचिरहेको छ । धन्य बाणगंगाबासीहरु ।