कवि व्यक्तित्व :
मैले कविलाई सानैदेखि चिनेको छु । उनी मेरा मावली भाइ हुन् । अध्ययनको सिलसिलामा पृथ्वीनाराण शाह क्याम्पस पोखरामा रहँदा लेखेका चिट्ठीहरु पढ्दा मैले भविष्यमा यी व्यक्ति ठूला साहित्यकार हुन्छन् होला भनी अनुमान गरेको थिएं । अन्ततः मेरो अनुमान सार्थक बन्यो । उनी नेपाली र अङग्रेजी दुबै भाषामा काव्य साधना गरी कवि बन्न सफल भएका छन् । उनका कृतिहरु सबै परिस्कृत र सन्देशमूलक छन् ।
हरि पौडेलको साहित्यिक नाम स्वर्णशिखा हो । समसामयिक नेपालीय साहित्यमासाधना गर्ने युवाकविहरुमा उनको नाम आउँछ । उनी घनश्याम न्यौपाने परिश्रमीबाट विशेष रुपमा प्रेरित छन् । छन्द अभियान्ता कविराज पौडेप्रति पनि ऋणि भएको बताएका छन् । साहित्यमा नवशास्त्रीय (निओ क्लासिसिज्म) धार हुन्छ ।
यो स्वच्छन्दतावादी साहित्यिक यात्रा हो । स्वच्छन्दतावादी परिस्कारवादी भन्न मिल्छ । शास्त्रीय चिन्तनधारमा स्वतन्त्रता र मानवतावाद घोलेर समाजलाई सुधार गर्ने नवशास्त्रीय धार हो । उनको यो नवशास्त्रीय चिन्तन कोराभित्रका व्यथाहरुबाट प्रकट भएको छ । कवि नवसास्त्रीय मान्यताका साथ निकै परिस्कृत काव्य लिएर उदाएका छन् । उनलाई जान्ने र पढ्नेहरुले उनको अन्तरनिहीत प्रचूर काव्य क्षमता देखेर आश्चर्य मान्छन् । उनको शास्त्रीय कालीगढी शैली र शिल्प निकै सुन्दर छ ।
कवि स्वर्णशिखा २०३१ सालमा मदाने गाउँपालिका वडा नम्बर ७गैराखर्कमा जन्मेका हुन् । उनको माताको नाम लक्ष्मी पौडेल र पिताको नाम बुद्धिराम पौडेल हो । उनले श्री दीपक माध्यमिक विद्यालयामा केही समय अध्ययन गरे । उनीे बसाई सराईपछिबुबा आमाका साथ बुद्धभूमि इमलिया कपिलवस्तुमा आएका थिए । हाल उनी घोराही उपमहानगरपालिका वडा नम्बर १५ दाङ्ग बस्छन् । नेपाल संस्कृत विश्व विद्यालय जनता विद्यापीठ बिजौरी दाङ्गमा अध्यापन गर्छन् । उनी पोखरा पृथ्वीनारायण शाह क्याम्पसबाट स्नातकोत्तर अङग्रेजी प्रथम श्रेणी हुन् । उनी विभिन्न संघ संस्थामा आबद्ध छन् । उनी राप्ती साहित्य परिषद दाङ्गका सदस्य, लुम्बिनी वाङमय प्रतिष्ठान लुम्बिनी प्रदेशका सदस्यलगायत अन्य केही संस्थामा कार्यरत छन् ।
उनको प्रकाशित कृति ‘सय थुङगा’गजल संग्रह (२०७६) हो । त्यसपछि उनबाटझाडु गद्य कविता संग्रह(२०७८)प्रकाशित गरेको देखिन्छ । अङगे्रजी कविता संग्रह ‘ज्गलमचभम बलतष्उयमभु(२०७८) प्रकाशित गरेका छन् । त्यसपछि उनले आफ्नो पिताको दुखद अवशानको कारण एक रातमा कोराभित्रका व्यथाहरु शोक काव्य लेखेर आश्चर्यमा पारेका छन् । उक्त पुस्तक पनि २०७९ मै प्रकाशित गरे । यसबाट उनी आशुकवि हुन् भन्ने प्रमाणित हुन्छ । उनका सयपत्री (गजल संग्रह), शिखारोहण (गजल संग्रह), व्यासोवाच (छन्द कविता संग्रह), परिवेश बोल्छ (कथा संग्रह) प्रकाशोन्मूख छन् । उनले चक्रपाणि—लक्ष्मी लोकेश्वरी स्मृति छन्द पुरस्कार प्राप्त गरेका छन् ।
पिताको स्वर्गे भएको पन्ध्रौ दिनको बेलुकी खाना खाएर बसेका कवि स्वर्णशिखा अर्को दिन बिहान ८ बजे पाँच सर्गमा लेखिएको शोककाव्यको अस्थिपन्जर तयार पारेको सुनाउँदै मांसपेसी भरेर परिस्कार र परिमार्जन गरी छपाउन लायक बनाउन लागिसमय लाग्ने भन्दै फोनमा जानकारी दिएका थिए ।
यस कृतिमा भूमिकाकारको भनाइ :
यस कृतिमा केही साहित्यकारहरुले भूमिका लेखेका छन् । ती मध्ये प्रा.डा. भिम खतिवडाले तर्पणः अर्पणः शीर्षकमा काव्यात्मक भूमिका लेखेका छन् । उनी लेख्छन्—
बाबा सम्झीकन नयनका भेलमा फाल हाल्छन्
कोराभित्र शिथिल मन यो सिर्जनामा बराल्छन्
पीडाको हो अवतरण यो फूल श्रद्धान्जलीको
छाती दुख्ने मन कथनको स्वर्ण भावान्जली हो ।
सहित्यकार टिकाराम उदासी लेख्छन् —
यस शोककाव्यमा कविले शास्त्रीय छन्दमा बुबाको मृत्युपछि आफू कोरा बस्दाका दिनहरुका शोकजन्य अनुभूतिहरुलाई विभिन्न सर्गहरुमा प्रस्तुत गर्नु भएको छ ।
संस्कृतिविद् तथा साहित्यकार राजेन्द्र आचार्यले लेख्छन्—
कोराभित्रका कथाहरु शोककाव्यमा उच्चस्तरको काव्य क्षमता छ । कुनै कुनै श्लोकहरुले गौरीको टक्कर दिन्छन् ।
डा. कृष्णराज डिसीले भन्छन्—
जीवात्म यो परपर हुँदै जान्छ रे लोकबाट
यौटा नौलो सरस कविता सिर्जियौं शोकबाट
कोराको कठिन रचना आँशुले बोल्छ जस्तो
यौटा नौलो गुढमय कुरा आँशुले खोल्छजस्तो ।
यस खण्डकाव्यमा प्रकाशकीयको तर्फबाट गीताकुमारी पन्थीले शोकका समयका घटना र विशेषगरी बुबा (ससुरा) को जीवन र व्यक्तित्वसमेत झल्कने गरी लेखिएको यो खण्डकाव्य कोराभित्रका कथाहरु को प्रकाशक हुन पाउँदा हर्षित भएको छु भनेकी छन् ।
कवि स्वर्णशिखाले आफ्नो भनाइमा लेखेका छन् —
कोराभित्र दुखद दिन ती तेह्रवटा कटेका
छान्दै लेखे सब जुन थिए सम्झनेझै बनेका
सानोहोला सकल कृति यो झट्ट आयाम हेर्दा
खर्चें रच्दा तर पनि चिसा अश्रुका लाख थोपा ।
यो शोक काव्य हो । यसको संरचना खण्डकाव्यसँग मिल्छ । यसर्थ यो खण्डकाव्य नै हो । त्यसैले मैले खण्डकाव्यीय मानकको विषयमा थोरै प्रकाश पार्छु ।
खण्डकाव्यीय मानकका दृष्टिले कृतिको अनुशीलन :
खण्डकाव्य खण्ड र काव्य गरी दुई शब्द मिलेर बनेको हुन्छ । काव्यस्य खण्डम् खण्डकाव्यम् भनिएको छ । खण्डकाव्यको इतिहास पुरानो छ । यसको परिभाषा छैटौं शताब्दीदेखि गरिएको छ । आचार्य विश्वनाथले खण्ड काव्य भवेत् काव्य स्यैकदेशानुसारि च भनेका छन् (एक देशको अनुशरण गर्ने काव्य नै खण्डकाव्य हो ।) त्यसैगरी यो विषयमा भामह, दण्डी, वामन, मम्मटले पनि आचार्य विश्वनाथलाई पछ्याएर आआफ्ना परिभाषा दिएका छन् ।
यो फुटकर कविता भन्दा ठूलो र महाकाव्य भन्दा सानो हुन्छ । आकार प्रकारका दृष्टिले दुबैतिरबाट भिन्न हुन्छ । यसले कविताको लघु रुप र बृहद रुप छुट्याउनमा सेतुको काम गरेको हुन्छ । खण्डकाव्यमा आएको कथावस्तु वा घटना कुनैमा स्पष्ट रुपमा देखिन्छ भने कुनै नदेखिन पनि सक्छ । यो खण्डकाव्य घटना प्रधान खण्डकाव्य हो । यसमा आख्यान तन्तु छ । लेखनाथको ऋतु विचारमा आख्यान तन्तु छैन भने यसमा आख्यान तन्तु छ । राजराजेश्वरी, मुनामदन,गौरी खण्डकाव्यका सफल कृति मानिन्छन् । त्यो सफलता यस कृतिले छुनछुन लागेको प्रतीत हुन्छ ।
खण्डकाव्यका मानक हुन्छन् । यस खण्डकाव्यमाआठ सर्गभन्दा ज्यादा हुँदैन । यो पाँच सर्गमा २३५ श्लोकमा रचिएको छ । त्यसैले पनि यो मानकका दृष्टिले खण्डकाव्यीय संरचना अन्तरगत पर्दछ । खण्डकाव्यमा एउटाविषय, सानो आख्यान, सानो परिवेश, थोरै पात्र वा चरित्र,निश्चित विचार, निश्चित उद्देश्य रसंवाद हुन्छ । खण्डकाव्य बढाएर महाकाव्य र महाकाव्य घटाएर खण्डकाव्य बन्दैन । खण्डकाव्यमा भाव विधान, बिम्ब, अलङ्कार, प्रतीक आदिको प्रयोग हुन्छ । भाषाशैली पनि फरक हुन्छ । यस खण्डकाव्यको भाषा ललित कोमल र शाकाकूल छ ।
कोराभित्रका कथाहरु शोककाव्यमा खण्डकाव्यका विशेषता पाइन्छ । यसमा आफ्ना स्वर्गीय पिताजीको देहान्तको विषलाई कथावस्तु बनाइएको छ । उक्त विषयलाई पाँच सर्गमा विभक्त गरेर आख्यानीकरण गरिएको छ ।यस शोक काव्यको परिवेश सानो छ । यो परिवेश इमिलिया, दाङ्ग, जितगढी बेल्बाससम्म फैलिएको छ । कथाको समख्याता अरु नै देखिन्छ ।यसमा विचारलाई वस्तुगत बनाउँदै भावनाले सिंगारिएको छ ।आपसी संवाद नभए पनि पात्रहरु वेदना पोखिरहेका छन् । एकालापी भावनाहरु छन् । जुन भावना समख्याताको माध्यमबाट व्यथित कवि स्वर्णशिखासँग पोखिरहेका छन् । यस कृतिमा भाषाशैली फरक छ ।
विषयवस्तुको चर्चा :
यो खण्डकाव्यको पहिलो सर्गमा ६९ वटा श्लोकहरु छन् । शुरुमा नै समख्याताले प्रकृतिको वर्णन गर्दै मामा बुद्धिरामको दुखद मृत्युका समाचार सुन्दा दुखी भएका छन् । ऊ अत्यन्तै व्यथीत हुँदैप्रकृतिको नियतिको वर्णन गर्दै उनको जन्मथलो प्यूठानको सुन्दर गाउँ चुँजाबाट कथा शुरु गर्छन् । त्यहाँबाट अलि सुख पाउनका लागि अहिलेको मदाने गाउँपालिका वडानम्बर७गुल्मी भनभने गैराखर्क सरेको कुरा राखेका छन् ।बुद्धिराम १२ वर्ष पुग्दा पिता पुनारामको मृत्यु भएको बताउँछन् । हजुरआमाका चार सन्तान २ छोरी दुई छोरा हुन्छन् । हसिली फरासिली हजुर आमाले चारजना छोराछोरी जन्माउँछिन् र हुर्काउँछिन् । बुद्धिराम जेठा छोरा हुन् । बुद्धिरामका ४ छोरा एक छोरी भएका छन् । बुद्धिरामका भाइको दुखद मृत्यु हुन्छ । बुद्धिरामको कान्छोछोरा ऋषिको पनि निधन हुन्छ । हजुरआमाको पनि १०२ वर्षमा मृत्यु हुन्छ । पछि लुम्बिनी प्रादेशिक अस्पतालमा बुद्धिरामको पनि मृत्यु हुन्छ । स्वही मृत्युको विषयवस्तु बनाएर यो शोक काव्य तयार हुन्छ । यसमा केही छिमेकी पात्रहरुले सान्त्वना दिन्छन् । छोराछोरी बुहारीहरुले विलाप गर्छन् । यसमा जेष्ठ सुपुत्रको बिलौना अत्यन्त हृदय विदारक छ । जेष्ठ सुपुत्र तुलसी हुन्, उनले भन्छन् —
म जान्न अस्पतालमा छोरा गए म आउन्न
दिलकी जुन घरका तारा म देख्न पाउँन्न
काखमै छोराछोरीको बसी दुनियाँ छोडूँला
काखमै सम्भव भए उमेर जोडूँला ।
जेठी बुहारीले पनि त्यही भनेकी थिइन्—
पापिनी भएं बलले जाऔं अस्पताल भने
नसुनी जान्न भनेको कुरा अस्पताल लगें
जसोपो होला घरमै बसी खानेछु ओखती
बुबाले भन्दा मानिन मन पोल्दैछ भत्भती ।
यहाँ माइलो छोरा कृष्णको बिलौना, छोरी राधिकाको बिलौना हरिको सान्त्वना देखिन्छ । श्रीमती गीता पन्थीसँग भएको संवाद पनि अत्यन्त कोमल र हृदय विदारक छ ।
त्यसपछि दोस्रो सर्गमा ३९ वटा श्लोक छन् । यस सर्गमादाह संस्कारका कुरा आएका छन् । समख्याताको मामाको लक्ष्मणघाटमा दाह संस्कार हुन्छ । घाटमा हरिसँग आफन्तहरुले गरेको शोकमय संवाद आउँछ ।
तेस्रो सर्गमा ३५ श्लोक छन् । तीन भाई छोरा तुलसी, कृष्ण र हरि अनि समख्याताका माइजू कोरामा देखिन्छन् । आफन्तहरु शान्त पार्न आएका हुन्छन् । त्यहाँ परम्परागत संस्कारका कुराहरु आउँछन् । और्दोदेहिक कृया शुरु हुन्छ । यस सर्गमा अत्यन्तै सन्तुलित रुपमा राजेन्द्र गुरु देखा पर्छन् । उनी भन्छन् —
परम्परा सधै बनोस मनुष्य भावना छुने
मनुष्यको निमित्त नै सदैव फाइदा हुने
बनाउँदा कठोर ती हटेर जान सक्दछन्
उदारता नखोजिए घटेर गुम्न सक्छन् ।
गुरु राजेन्द्रका यी दृष्टिकोणहरु नवशास्त्रीय छन् । यसर्थ नै मैले साश्त्रीय मान्यतामा उदारता घोलेकोे हुनाले नवशास्त्रीय भनेको हुँ ।
सर्ग चारमा ७१ श्लोक छन् ।यस सर्गमा कालगतिको आँखा परेको घरको वर्णन छ । हरिसँग जानुकाको बिलौना हुन्छ । साथीहरुसँग फोनमा भएका समवेदनाका स्वरहरु कलात्मक रुपमा प्रकट भएका छन् ।
सर्ग पाँचमा २१ श्लोक छन् । यस सर्गमा अभिभावकको तर्फबाट अतिथि तथा आफन्तहरुप्रति कृतज्ञता प्रकट भएको छ । सबै प्रकारका दान पुण्य हुन्छन् । यो सर्गमा समष्टि कथा उत्कर्षमा पुगेर अपकर्ष हुँदै उपसँहारमा टुङिगन्छ ।
समख्याताले बेला मंसिरको थियो तरुण झै जाडो बढेको थियोबाट शुरु गरेरतिम्रो राख विचार पाठक पढी कस्तो रह्यो अन्त्यमा भनेका छन् ।
समापनखण्ड :
यो पूर्वीय खण्डकाव्यीय मानकका दृष्टिले उपयुक्त कृति हो । स्वर्णशिखाले कुनै कुनै सर्गको अन्त्यमा सर्गान्तर गरेका छन् । यो कृति शिखरिणी, मन्दाक्रान्त, शार्दूलविक्रीडित, स्रग्धारा, अनुष्टूप छन्दमा लेखिएको छ । यो कृति ६६ पृष्ठमा विस्तार भएको छ ।यसको आवरण पृष्ट डिजाइन सेटिङ्ग राजु विकेले गरेका हुन् । आवरण पृष्ठ विषवस्तु अनुसार नै छ ।
काव्यिक शिल्प चातुर्यले शोककाव्य कलात्मक भएको छ । यसमा स्रष्टाको भावना शोकसन्तप्त भएर पोखिएका छन् । शोकजन्य अनुभूतिलाई कलात्मक रुपमा पक्डिएर अब्बल काव्यिक सौन्दर्य प्रकट भएको छ । अनुभूतिलाई यसरी कलात्मक रुपमा पस्कनु लेखकको सामथ्र्य हो । शोक उनको सीमा हो । उनले स्वाभाविक रुपमा आएका अलङकार बिम्बहरुलाई सहज रुपमा राखेका छन् । भाषामा आडम्बर छैन । भाषा कोमल सरल र सहज छ । अनुप्रासले कृतिको ओजस्विता बढाएको छ । भाषा कोमलकान्त छ । शिथिल र शोकमय अवस्थामा आएका विचारहरु निकै मार्मिक छ । एक रातमा लेखिएको भए पनि यसलाई सम्पादन गरी प्रकाशन गर्न केही समय लागेको देखिन्छ । कृतिकार हरि पौडेल स्वर्णशिखालाई हार्दिक धन्यवाद तथा शुभकामना दिन चाहन्छुं ।