गत २०७९ कार्तिक ५ गते शनिबार लुम्बिनी वाङ्मय प्रतिष्ठान अर्घाखाँची जिल्लाको तेस्रो अधिवेशन सम्पन्न भयो । म त्यस कार्यक्रममा सहभागी हुन पुगें । त्यताबाट हिमबहादुर लेकाली र कमल पोखरेलले तारन्तार फोन गर्नु भयो । त्यसको तारतम्यको लागि साहित्यकारहरु विशेषतः माधवराज चुँदाली, सिएन बन्जाडे, विष्णु बस्याल पनि मसँग निरन्तर सम्पर्क गरिरहनु भएको थियो । मैले यहाँबाट ६० जनाको आजीवन सदस्यताकोप्रमाण पत्र लिएर जानु पर्ने भयो । मैले पाकरी प्रकाशन प्रालिबाट उक्त प्रमाणपत्रहरु तयार गरें । अनि म ४ गते दिउँसो १२ बजेतिर सार्वजनिक बसबाट त्यतातिर लागें ।
बस आफ्नै रफ्तारमा कुँदीरह्यो । मैले दौडिरहेको बसबाट बाहिर हेरिरहँदा टाढाटाढासम्म शारदीय शोभाले युक्तमनोरम प्राकृतिक परिदृश्यहरु हेर्थे । ती दृश्यहरु सिने रिलझै झ्याप्प झ्याप्प उघारिदै र बिलाउँदै जान्थे। गाडी प्रति घण्टा साठीको दरमा कुद्यो । हामी गोरुसिंगे हुँदैे पत्थरकोट ठाडा, सुपादेउराली, नरपानी पुग्यौं । नरपानीबाट उत्तरतिर हेर्दा हरियो प्रकृतिको पृष्ठभूमिमा उज्याला हिमालका सेता दन्तहारहरु हाँसिरहेको अवस्थामा देखियो । आहा हाम्रो प्रकृति !
मैले जीवनको लामो अवधि बिताएका जन्मभूमि मालारानीतिर आाँखा लगाएं । मेरो घर अग्लो पहाडले धप्पै छेकी दियो । मनका बिम्बहरु भने जाग्रत भए । मैले मनबाट डाँडापारिका सबै गाउँघरहरु देखें । अभिभावकहरुलाई सम्झें । भाइबहिनीहरु एक एक गर्दै सम्झनाको तरेलीमा आए । अग्लो रेसुङगा पावनभूमिले ऋषि बाबु आयौ भन्दै मुस्कुराएजस्तो लाग्यो । हामी हुर्रिदै घुम्टी हुँदै ५ बजे सन्धिखर्क बजारमा पुग्यौं । सन्धिखर्क पुगेपछि म बसबाट झरेर फटाफट लेकाली आर्टतिर लागें । हिमबहादुर लेकालीको फोटो ग्यालेरीमा पुग्दा साथीहरु कमल पोख्रेल, सिएन बन्जाडे,ओम आचार्य, लिलामणि ढुङगाना,राम वसु त्यही हुनुहुन्थ्यो । कमल पोख्रेलले ती आजीवन सदस्यता प्रमाणपत्रहरु फ्रेमिड.्का लागि तुरुन्त पठाउनु भयो ।
बसिरहँदा अकस्मात फोटो ग्यालेरीमा मेरो ध्यान तानियो । झण्डै ४ दशकको अविरल साधनाका प्रतिफल परिस्कृत तस्बीरहरुआँखाको तृसना मेटुन्जेल हेरिरहेंं । उनको फोटो ग्यालेरी प्रदर्शन गर्न आउने खालको छ । राजनीतिमा लागेका हिमबहादुर लेकालीको कला सदन ६० को दशकसम्म त ठिकै ठिकै थियो। उहाँको लागि भन्दा पनि सबै कुरा पार्टीको लागि हुन्थ्यो तर पछिल्लो दिनहरुमा अलि राम्रो व्यापार भयो । लेकालीले राम्रो कमाउन थाल्नु भयो । चित्रकलाबाट पनि बाँच्न सकिने रहेछ भन्ने अवस्था आयो ।
अहिले रुपन्देहीमा करिव ३ दर्जन व्यवसायीहरु कला साधनामा तल्लीन हुनुहुन्छ । उहाँहरुले आफ्नो व्यवसायलाई राम्रोसँग चलाउनु भएको छ । हिमबहादुर लेकालीलाई ब्रोङ्काटिसले जीवनभर दुःख दिइरह्यो । उहाँ आशा र जीवनवादी सोंचले रोगलाई दबाउँदै चल्दै रहनु भयो । समय बित्दैरह्यो । उहाँको काल्पनिक क्षमतामा कुनै कमी आएन । कला सधनामा डुब्दै रहँदा उहाँको कला अरु परिस्कृत बन्दै गयो । हाल उहाँ धेरैभन्दा धेरै संस्थामा अबद्ध हुनुहुन्छ । सबै संस्थाहरुलाई निरन्तरता दिने संयोजन गर्ने, समन्वय गर्ने काममा उहाँको योगदान राम्रो छ ।
सन्धिखर्क बजार निकै सुन्दर छ । हामी दार्जिलिङ्ग, सिक्किमतिर डुल्न जान्छौं । तर वास्तवमा दार्जिलिङ्ग सिक्किमभन्दा नेपालका पहाडी जिल्लाका सदरमुकाहरु निकै सुन्दर छन् । त्यसरी नै सफा पनि बन्दै गइरहेका छन् । खलङ्गा, सन्धिखर्क, तमघास, तानसेन बजारहरु निकै सुन्दर र सफा छन् । स्थानीय सरकारहरुले निकै राम्रो काम गरिरहेका छन् । वास्तवमा क्रान्तिपछिको उपलब्धि भनेको स्थानीय स्वायत्त शासनको प्रत्याभूति हुनु हो ।
हामी बिच भोलि ५ गतेको कार्यक्रमको व्यवस्थापनको विषयमा केही क्षण कुराकानी भयो । कुराको सिलसिलामा झमक्क रात प¥यो । अब बसोबासको प्रबन्ध मिलाउने कुरा आयो । हामी सन्धिखर्कको सुविधा सम्पन्न विन्दु होटलमा बस्ने भयौं । राम वसु सर र म त्यही बस्याँै । सफा र स्वच्छ खाना, एटेज बाथरुमसहितको सुविधा सम्पन्न होटल रहेछ । हाम्रो बसाईको व्यवस्थापन हिमबहादुर लेकाली र कमल पोख्रेलले गर्नु भयो ।सादा सरल मिजासका राम वसुको लामो योगदानको विषयमा मलाई हिमबहादुर लेकालीले पहिल्यै बताउनु भएको थियो । साठीको ढिकढाका पुगेका रामबसुको केही छिनको सतसङ्गले मलाई जीवनको विषयमा अरु गम्भीर बनायो । उनका थुप्रै अनुभवहरु सुन्ने मौका पाएं ।
हामी ११ बजे सुत्याँै । राम वसुले स्वास्थ्यमा अलि असहज भएको कुरा सुनाउनु भयो । अर्को दिन बिहान पनि उहाँको अनुहारमा अलि असहज देखिन्थ्योे । उहाँले शरीरको भन्दा पनि कार्यक्रम सफलताको चिन्ता लिनु भयो । वास्तवमा हाम्रो पिंढीमा जीवनकेन्द्री दृष्टिकोण छैन । हामीले राजनीति, कला रसाहित्यको लागि जीवन बनाएका छौं । हुनुपर्ने जीवनको लागि कला साहित्य हो । साहित्य भनेको हितगर्ने हो । हितेन सहितं तस्य भावः साहित्यम् अर्थात हितले युक्त भाव नै साहित्य हो भनिन्छ । साहित्यले हाम्रो जीवनलाई राम्रो गर्नुपर्छ । तर राम वसुुहरुले आफ्नो ज्यूज्यानलाई भन्दा राजनीति,साहित्य, कला र संस्कृतिको उत्थानमा लागि रहनु भयो ।
वास्तवमा कलाको लागि जीवन हैन, जीवनको लागि कला हो । साहित्यको लागि जीवन हैन, जीवनको लागि साहित्य हो । पैसाको लागि जीवन हैन, जीवनको लागि पैसा हो । संस्कृतिको लागि जीवन हैन, जीवनको लागि संस्कृति हो । शिक्षाको लागि जीवन हैन, जीवनको लागि शिक्षा हो । देउताको लागि जीवन हैन, जीवनको लागि देउता हो । सरकारको लागि जीवन हैन जीवनको लागि सरकार हो । सबै कुरा जीवनको लागि हो । हाम्रो जीवन केन्द्रमा छ । यही नै हाम्रो सन्तुलित जीवन दृष्टिकोण हो र हुनुपर्छ । जीवन पद्धति पनि यसै अनुसार व्यवस्थित हुनुपर्छ । तर हाम्रो जीवन पद्धति अतिवादमै अल्झिएको छ । लोकतन्त्रको आगमनपछि पनि बलिदानको लागि तयार हुनु पर्छ भनिदैछ । अब जीवनको बलिदान हैन जीवन केन्द्रीदृष्टिकोण बनाउनु पर्छ । अब यो सुन्दर जीवनलाई बलि दिनु हुँदैन ।जीवनलाई स्वाधीन र सम्मानित बनाउनु पर्छ । जीवन केन्द्रमा हुनु पर्छ ।
सूर्यले फन्को मा¥यो । हिंज पश्चिमतिर अस्ताएको सूर्य आज पूर्वबाट उदायो । उदाउनु अघि कुखुराका भालेहरु बासे । म उठेर नित्य कर्म गरें । नित्य कर्म सकेपछि राम वसुुु सरलाई विश्राम गर्नुस् भन्दै आफन्त र साथीहरुलाई भेट्न गएं । बाँगी खोलाले आफ्नो बर्खे जवानी गुमाएको रहेनछ । सर्वत्र हरियै हरियो देखिन्छ । विभिन्न रङ्गका भेषभूषा पहिरिएका युवयुवतीहरु कार र मोटरसाइकलहरुमा विहानैदेखि दौडिरहेका छन् । तिहारको रङ्गीचङ्गीले बजार विछट्टै उज्यालो देखिन्छ । देख्दा वास्तवमै नेपालीहरु आधुनिक युगमा प्रवेश गरेका छन् ।
अहिले गाउँ र सहरको असमानता हटेको छ । गाउँ गाउँमा विद्युत पुगेको छ । सडक सन्जालले टोल टोललाई जोडेको छ ।क्याम्पस ,विद्यालयहरु यथेष्ट पुगेका छन् । स्वास्थ्य चौकीहरु छन् । खानेपानीको अभाव छैन । ठाउँ ठाउँमा लिफ्टिङ्गबाट पानी पु¥याइएको छ । पैदलै हिंड्न् पर्ने अवस्था अन्त्य भएको छ । सबैका हातमा मोबाइल छन् । वृद्धवृद्धाहरु, अपाङ्गताहरु एकल महिलाहरु थोरै भए पनि मासिक भत्ता बुझ्छन् । पर्यटकीय स्थलहरुमा सुधार आएको छ । सबै कुराहरुलाई व्यवसायिक रुपमा हेर्न थालिएको छ । कुना कुनामा अनलाइन मिडियाबाट समाचारहरु पुगेका छन् । आधुनिक रुपमा उत्पादन गर्ने तरिकामा सुधार आएको छ । गाउँ गाउँमा तत्काल समाचारहरु पुग्छन् । होटल चौतारीमा बसेर समाचार विश्लेषण गरिरहेका हुन्छन् । कोही केहीमा कमी छैन । भोकमारी समाप्त भएको छ । लुटपाट चोरीमा कमी आएको छ । नेताहरुमा सोंच्ने र सम्बोधन गर्ने शैलीमा परिवर्तन आएमा मुलुक बन्छ ।
म सरासर जनार्दन खनालको घरमा पुगें । त्यसपछि लुम्बिनी वाङ्गमय प्रतिष्ठान लुम्बिनी प्रदेशका संस्थापक उपाध्यक्ष तथा हालका सल्लाहकार प्राध्यापक माधवराज चुँदालीको घरमा पुगें । उहाँसँग धेरै कुराहरुमा सल्लाह लिएं ।उहाको आमासँग भेट भयो । त्यसपछि म नरेन्द्र क्षेत्री, ईश्वरा म्याडम र ज्ञानबहादुर क्षेत्रीको घरमा पुगें ।त्यो दिन सहित्यकार ज्ञानबहादुर क्षेत्रीको छेस्का कविता संग्रह ‘अनुराग’ विमोचनको कार्यक्रम थियो । ज्ञानबहादुर क्षेत्रीद्वारा रचित अनुराग कृति साहित्यिक सौन्दर्यका दृष्टिले महत्वपूर्ण रहेको कुरा छेस्का कविताका अभियन्ता आदरणीय साहित्यकार ओम आचार्य र संस्कृतिविद राजेन्द्र आचार्यले पहिले नै भन्नु भएको थियो । मेरो विचारमा पनि त्यस्तै लाग्दै थियो ।
छेस्का शब्द नेपाली शब्दमा प्रयोग हुने झर्रो शब्द हो । यसको अर्थ काठ दाउराको सानो चोइटो वा टुक्रो भन्ने बुझिन्छ । काठको छेस्काले जसरी च्वास्स घोच्छ त्यसरी नै मनलाई च्वास्स घोचेर गहिरो प्रभाव छेड्ने कविताको लघुतम रुप छेस्का हो । यसमा पाँच पाँच अक्षरका तीनवटा अनुप्रासयुक्त स्वतन्त्र पंक्तिहरु हुन्छन् । पहिलो पंक्तिले विषयको उठान गर्छ, दोस्रो पंक्तिले उत्कर्षमा पु¥याउँछ, तेस्रो पंक्तिले एक प्रकारको झङ्कार उत्पन्न गर्दै समापन गर्छ । यसको असर अलि चिरस्मरणीय हुन्छ । त्यसैले पछिल्लो समयमा यस विधामा साधना गर्ने साधकहरुको संख्या ह्वात्तै बढेको छ ।
राम वसु र मैले १० बजे खाना खाएर ठीक ११ बजे कार्यक्रम स्थलमा पुग्यौं । कार्यक्रममा साहित्यकारहरु आउनु भएको थियो । कार्यक्रम ठीक समयमा शुरु भयो । स्पष्ट,धैर्य र शान्तपूर्वक उद्घोषण गर्नु हुने तीर्थराज आचार्यले कार्यक्रमलाई अलि फरक बनाउनु भयो । कार्यक्रम राजशी प्रकृतिको नभई समतलीय बन्यो । हामी सबै आम्ने साम्ने भएर बर्तुलाकारमा बस्यौं । कोही तलमाथि भएनौं । कोही विशष्ट र कोही अशिष्ट भएनौ । कोही सानो कोही ठूलो भएनौं । जवाफदेही र जिम्मेवारहरु सम्मुखमा बस्यौं ।वास्तवमा विगतमा हामीले गल्ती गरेका हौं । अवैतनिक र स्वयंसेवी साहित्यकारहरुलाई माथि र तल बनाउने र भेद गर्ने काम राम्रो थिएन । यो कार्यक्रमले सबैलाई आत्म सम्मान जगायो ।
लुम्बिनी वाङमय प्रतिष्ठान लुम्बिनी प्रदेशले साधारण सदस्य, आजीवन सदस्य जिल्ला सदस्य र केन्द्रीय सदस्यको पोर्टफोलियो समान बनाएको छ । कोही तलमाथि हुँदैन । सबै विधान अनुसार स्वतस्फूर्त रुपमा चल्छौं । हामीबिचमा दास मालिकको व्यवहार हुँदैन । गरिनु हुँदैन । यो हाम्रो आधारभूत मान्यता हो । यसले माथि र तलको मनोविज्ञान हटाउँछ । विभेद समाप्त पार्छ र अभियानलाई सहज बनाउँछ ।
कार्यक्रम मन्जु घिमिरेले स्वागत र लिलामणि ढुङगानाले अध्यक्षतामा भयो । लुम्बिनी वाङमय प्रतिष्ठानका संस्थापक अध्यक्ष स्वर्गीय हिमलाल ज्ञवालीको तस्बीरमा फूल माला र अबीर लगाएर एक मिनट मौन धारण गर्दैकार्यक्रम आरम्भ ग¥यौं । त्यसपछि साहित्यकार ओम आचार्यले अनुराग कृतिको विमोचन गर्नु भयो । मैले विमोचनमा साथ दिएं । अनि हामीले औपचारिक रुपमा साठीजना आजीवन सदस्यलाई सदस्यता प्रमाण पत्र प्रदान ग¥यौं ।
अर्घाखाँची लुम्बिनी वाङमय प्रतिष्ठान लुम्बिनी प्रदेशको नमुना जिल्ला हो । यो जिल्लामा अर्घाखाँची फउण्डेशन, पाणिनि वाङमय प्रतिष्ठान र लुम्बिनी वाङमय प्रतिष्ठानको एकीकरण भई लुम्बिनी वाङमय प्रतिष्ठान जिल्ला शाखा अर्घाखाँची गठन भएको हो । यसले जिल्लाको विशिष्टतामा पाणिनि मुख पत्र प्रकाशन गर्छ । हामीले यही मोडललाई उपयुक्त मानेर भिन्दाभिन्दै जिल्लामा भिन्दा भिन्दै नाम गरेका मुखपत्रहरु प्रकाशन गर्ने योजना बनाएका छौं । अलग अलग जिल्लामा लुम्बिनी वाङमय प्रतिष्ठान लुम्बिनी प्रदेशको आजीवन सदस्य रहने गरी आजीवन सदस्यता वितरण गर्ने योजना छ । यो योजनामा अर्घाखाँचीबाट ६० जना थपिनु भएको छ । यी साठीजना आजीवन सदस्यहरु तीन वर्ष अघि नै बनिसक्नु भएको थियो । यो पटक उहाँहरुलाई आजीवन सदस्यता प्रमाण पत्र प्रदान गर्ने योजना अनुसार वितरण गरिएको हो ।
कार्यक्रममा युगल बस्याल, ज्ञानबहादुर क्षेत्री, ओम आचार्य, वीरेन्द्र केसी, माधवराज चुँदाली, मनिराम पराजुलीलगायतले पाँच पाँँच मिनट शुभकामना दिनु भयो । मैले पनि शुभकामना दिएं । अध्यक्ष पीताम्बर बन्जाडेको शुभकामना सुनाइयो । साहित्यकार देवी दर्लामी पनि आउन नसकेको समाचार सुनाइयो । उत्तरकुमार पराजुलीराजेन्द्रकुमार आचार्य पनि आउन सक्नु भएन । कार्यक्रममा युगलनारायण् बस्याल, ओम आचार्य मनिराम पराजुली, जगन्नाथ भुसाल, हेमराज भुसाल,पीताम्बर भटट्राई आउनु भएको थियो ।
पहिलो सत्र सिद्धियो । त्यसपछि अध्यक्ष लिलामाणि ढुङगानाले पहिलो सत्र समापन भएको घोषणा गरी दोस्रो सत्रको लागि हिम लेकाली, माधवराज चुँदाली, द्रोणप्रसाद भुसाल, माधवा श्रेष्ठसहितको चार सदस्यीय निर्वाचन समितिको घोषणा गर्नु भयो । अध्यक्ष तथा अन्य पदाधिकारी को बनाउने हो भन्ने विषयमा केन्द्रले सोंच्ने कुरा भएन । उहाँहरु आफैले जान्ने कुरा हो । त्यस कामको संयोजन प्राध्यापक माधवराज चुँदालीले गर्नु भयो । बडो लोकतान्त्रिक रुपमा सबै विचार आस्था, वर्ग, लिङगलाई समेटेर ११ सदस्यीय समिति गठन भयो । समितिको अध्यक्षमा विष्णुप्रसाद बस्याल विप्र चुनिनु भयो । विप्र छन्द कवितामा निकै सुन्दर कविता लेख्नु हुन्छ । आधुनिक साधनमा सिपालु उहाँको नेतृत्वले निकै राम्रो काम हुने अपेक्षा गरिएको छ । उपाध्यक्षमानिकै सक्रिय कवि कमल पोख्रेल चुनिनु भयो । त्यसैगरी सचिवमा तीर्थराज आचार्य, सहसचिवमा मन्जु घिमिरे रहनु भयो । कोषाध्यक्षमा सीता श्रेष्ठ छानिनु भयो । सदस्यहरुमा नारायण खनाल ‘निलम’,महेश्वर पन्थी, कृष्णप्रसाद भुसाल, राम बसु गोपाल भट्टराई, सीता बन्जाडे रहनु भयो ।
कार्यक्रम निकै प्रभावकारी भयो । कार्यक्रम ४ बजेतिर भ्याइयो । म उहाँहरुसँग बिदा मागेर हटात हिंडें । त्यो दिन साढे तीन घण्टामै हाइसले बुटवल ल्याई पु¥यायो । रात परेको हुनाले प्राकृतिक दृश्य हेर्ने कुरा भएन । मैले हाइसभित्रका अरु यात्रुका कुराहरु सुन्दै हिंडिरहें । वास्तवमा जनतामा जागरण राम्रो आएको छ । हाइस होस वा बस होस,् चौतारी होस् वा रेण्टुरेन्टमा होस् सबैतिर सबैले गहन रुपमा राजनीतिको समीक्षा गर्छन् । आर्थिक क्रियाकलापका चर्चा गर्छन् । नबुझेको कोही छैन । लोकतन्त्रले सबैलाई सम्प्रभू (मालिक) बनाएको छ ।
अर्घाखाँची जिल्लामा हुने साहित्यिक गतिविधिहरुले हामीलाई निकै हौसाएको छ । हामीहरुले यहाँबाट सिक्नु पर्छ । यसको लागि सर्वमान्य रुपमा सबैले विश्वास गर्ने व्यवहारमा पारङ्खगत,सरल र सात्विक व्यक्तित्वहिमबहादुर लकालीज्यूलाई धन्यवाद दिन चाहन्छु । साहित्य, पत्रकारिता, उपभोक्ता आन्दोलनमा लागेका सहयोगी बिसीलाई देख्दा अत्यन्त खुसी लाग्छ । साहित्य भनेपछि हुरुक्क हुने कमल पोख्रेललाई धन्यवाद दिन चाहन्छु ।मलाई निरन्तर फोन गरिरहने आदरणीय सिएन बन्जाडे, विष्णु बस्याल, ज्ञानबहादुर क्षेत्री सरलाई धन्यवाद दिन चाहन्छु ।म आफै धन्य भएको छु । अस्तु ।