जब म कपिलधामतिर प्रस्थान गर्ने तयारी गरिरहेको हुन्छु तब एकपटक मेरो मानसपटलमा ऋषि भारद्वाजको सौम्य र शान्त अनुहार आउँछ । कपिलवस्तु जिल्ला वाणगंगा नगरपालिकाको चप्परगाउँमा राजमार्गको दक्षिण किनारामा छक्क देखिने त्यो घर काव्य सिर्जनालय जस्तो लाग्छ । घरमा पुग्दा पनि त्यस्तै साहित्यिक आभास हुन्छ । कैयौं पटक हामी घरमै पुगेर विभिन्न कार्यक्रमहरुमा सहभागी भएका पनि छौं ।
यो पटकको भेटमा उनको ललाटमा सदाझै रातो टिका थियो । उनले सेतो र सफा पोशाकमा शान्तसँग मुस्कुराउँदै अघि सरेर ‘धाम परिचय’ पुस्तक दिए । त्यसपछि अनौपचारिक भेटघाट कार्यक्रम सम्पन्न गरेर घर फर्कियौं । घर आएपछि मैले यो पुस्तक सर्सर्ती पढें । भाषा, संस्कृति, कला र साहित्यको साधनामा जीवन बिताएका ऋषि भारद्वाजले आफ्नो कर्तव्य फेरि पनि पूरा गरेछन् । उनी छन्द साहित्यमा राष्ट्रिय पहिचान बनाएका व्यक्ति हुन् । उनले आफ्नो कर्मभूमि बाँणगंगा क्षेत्रका धार्मिक साँस्कृतिक र ऐतिहासिक पावन धामहरुको समष्टि शब्द चित्र उतारेछन् । उनलाई दिलैदेखि धन्य ठानें । यस स्तुत्य प्रयाशबाट बाणगङ्गाबासी सधै ऋणी रहनेछन् ।
कवि भारद्वाजका प्रकाशित कृतिहरु धेरै छैनन् । जति छन् कला र भावनाका दृष्टिले खारिएका, परिस्कृत र खोजमूलक नै छन् । उनको पहिलो कृति ‘मनको तरङ्ग कविता’ संग्रह हो । यसको दोस्रो संस्करण पनि निस्केको छ । दोस्रो कृति ‘बाणगंगा’ खण्डकाव्य हो । यसको पनि दोस्रो संस्करण निस्केको छ । तेस्रो कृति ‘छन्द परिचय’ हो । चौथो कृतिको रुपमा ‘धाम परिचय’ निस्केको छ ।
उनले थुप्रै सम्मान विभूषणादिहरु पाएका छन् । मनकामना भैरव साहित्य सम्मान, छन्द प्रतिभा साहित्य पुरस्कार, छन्द योगदान साहित्य सम्मान, छन्द साधक साहित्य सम्मान, ठाकुरनाथ पन्त स्मृति पुरस्कार, साहित्य सम्मान, राष्ट्रिय साहित्यिक पत्रकार सम्मान, काव्य साधक पुरस्कार तथा सम्मान, छन्द प्रतिभा साहित्य सम्मान, पल्लभ साहित्य सम्मान, शास्त्री देवराज आचार्य प्रतिभा पुरस्कार, साहित्य श्री सम्मान (भारत), साहित्य रत्न सम्मान आदि छन् । यसबाट पनि उनको कवित्व क्षमताको प्रदर्शन हुन्छ ।
ऋषिराम कंडेलको साहित्यिक नाम ऋषिकेशव भारद्वाज हो । उनको जन्म माता दिनरुपा कँडेलको कोखबाट वि.सं. २०१६ मा भएको हो । पिता गुणाखर कँडेल हो । श्रीमतीको नाम चेतनादेवी कँडेल हो । उनका दुर्गाराज कँडेल र सीता कँडेल गरी दुई छोराछोरी छन् । बुहारीको नाम रीता भट्टराई कँडेल हो । उनको नातिनी जोशिका कँडेल साहित्यिक क्षेत्रमा जमिसकेकी छन् । नाति ऋदेश कँडेल हुन् ।
वस्तवमा साहित्य र कलाको आपसी संयोगबाट संसारमा परिवर्तन आएको छ । साहित्यले कल्पना गर्छ । कलाले त्यस कल्पनालाई टिपेर चित्र, मूर्ति, अभिनयको माध्यमबाट मूर्त रुप दिन्छ । साहित्यका कतिपय कल्पनाहरुलाई वैज्ञानिकहरुले सार्थक बनाएका छन् । पुष्पक विमानको कल्पना यथार्थमा अनुवाद भयो ।
परम्परादेखि चलिआएका किंवदन्तीहरुका साहाराबाट पनि सयौं स्थापत्यहरु बनेका छन् । कलाकारहरु किंवदन्तीहरुलाई पनि कलामा भरेर मूर्त स्वरुप दिएका छन् । त्यसरी नै कविले पनि कलाबाट उद्दीप्त भएर कैयौ कविता खण्डकाव्य, महाकाव्य लेखेका छन् । कला र साहित्यको दोहोरो सम्बन्ध छ । यसैबाट सभ्यता र संस्कृतिको विकास भएको छ । यस क्षेत्रमा किंवदन्तीबाट पनि स्थापत्य कलाको विकास भएको छ ।
उनको यो वर्ष प्रकाशित कृति ‘धाम परिचय’ २०७७ हो । यसलाई विधाका दृष्टिले गद्य पद्य मिश्रित भएको हुनाले चम्पु भनिन्छ । यो लघु आकारको कृति हो । यो कृतिको सीमा विस्तार जम्माजम्मी २० पृष्टभित्र रहेको छ । यस कृतिको विषयमा संस्कृतिविद् राजेन्द्रकुमार आचार्यले भनेका छन्— “नेपाल एउटा साँस्कृतिक राष्ट्र—राज्य हो । त्यसमा पनि साहित्यकार भारद्वाजले कपिलवस्तु जिल्ला अन्तरगतका साँस्कृतिक धामको विषयमा चर्चा गरेर निकै ठूलो गुन लगाउनु भएको छ । मनकामना संस्कृत विद्यापीठका अध्यक्ष दयाराम पौडेलले बाणगंगा नगर क्षेत्रका पौराणिक कथा वस्तुमा आधारित खोज अनुसन्धनमूलक धार्मिक तथा ऐतिहासिक विषयवस्तु समेटिएका लेख रचनाहरु भएकोले यो कृति उत्कृष्ट छ भनेका छन् ।
यस पुस्तकमा लेखकले विभिन्न उपयोगी कुराहरु पस्किएका छन् । यसमा अठार पुराणको नाम र श्लोकसंख्या दिइएको छ । त्यसपछि धामको परिचय आएको छ । धाम परिचय प्रथम खण्डको पहिलो रचना बाणगंगा नदीको ऐतिहासिक सन्दर्भ छ । पद्म पुराण, वराह पुराणमा भनिएको श्लोक उधृृत गरेका छन् । रावणको धनुर्वाणबाट प्रकट भएको बाँणगंगाको विषयमा स्पष्ट पार्दै यस आसपासमा भएका विभिन्न उपधामहरुको विषयमा उल्लेख गरेका छन् । कवि ललित पदपदावली र सरल बिम्बहरुको प्रयोगबाट मोहनीमय कविता लेख्छन् ।
कवि लेख्छन् —
कतै हाँगा हाँगामा चह चह गरी चिर्बिर छटा
कतै छायाँ छल्दै तह तह छरी छिर्विरछिटा
कतै खोल्सा खोल्सीतिर छुनमुने वृक्ष लतिका
कहाँ कैले मिल्ला जगत भरिमा स्वाद यतिका ।
यसपछि साहित्यकार भारद्वाजले कपिलधामको चर्चा गरेका छन् । उनले साँख्य दर्शनका प्रवर्तक कपिल ऋषिको तपस्थलको वणर्न गरेका छन् । यो पवित्र धामको वणर्न गर्दै पतन्जलि ऋषि र गौतमबुद्ध पनि यसै पावनभूमिमा साँख्य दर्शनका प्रवर्तक कपिल ऋषिसँग बसेको शास्त्रार्थ गरेको प्रसंग उल्लेख छ । यहाँ १०१ शिव लिङ्ग, गणेश मन्दिर, गायत्री पुरश्चरण, कुटी, शिवालय मन्दिर, राम जानकी मन्दिर, सप्त ऋषि दर्शन क्षेत्र, देवहुति मन्दिर, त्रिरत्न बौद्ध विहार, साहित्य तीर्थ, पुस्तकालय आदि रहेको बताएका छन् ।
यसमा लेखिएको छ
कपिलाय नमस्तुभ्यं साँख्यशास्त्र विधायिने ।
बाणगंगातटे धाम तस्मात् कपिलवस्तु च ।।
यहाँ मधुवनधामको पनि चर्चा छ । यसको पूरा नाम शान्ताकुन्ज मधुवन धाम हो । यस धामको परिसरभित्र पितृमोक्षधाम, नीलकण्ठधाम, विष्णु पादुका शिला, गायत्री मन्दिर, गणेश मन्दिर, शिव मन्दिर, शान्ता श्रृङ्गी प्रतिमा, विपश्यना केन्द्र आदि रहेका छन् । यो साँस्कृतिक स्थलको परिचय दिदैं यसको खोज अनुसन्धानमा जोड दिन आव्हान गरेका छन् । त्यसपछि साहित्यकार भारद्वाजले कौशिकी तटका विभाण्डक ऋषि यसै बाणगंगा नदीको पूर्वी तट नन्दनगरको कैलाश आश्रममा आई साधना गरेको प्रसङ्ग उल्लेख गर्दै विभाण्डक ऋषिका पुत्र ऋष्य शृङ्गको जन्म पनि यसै आश्रमको पश्चिमतर्फ शृङ्गी घाटमा भएको बताएका छन् । यो यस क्षेत्रको महत्वपूणर् धाम भएको ठान्छन् ।
लेखकले बोलबमधामको परिचय दिएका छन् । कोइली नदी र बाणगंगा नदीको संगम स्थलमा लक्ष्मण घाट र बोलबम धाम रहेको बताएका छन् । पौराणिक मान्यता अनुसार त्रेता युगमा पुरुषोत्तम श्री रामचन्द्र र उनका भाइ लक्ष्मण वनवास जाने क्रममा रामघाट हुँदै लक्ष्मणघाटमा आएको किंवदन्ती बताएका छन् । लक्ष्मणले स्नान गरेको हुँदा यो ठाउँको नाम लक्ष्मणघाट रहन गएको हो । यहाँ श्रावण पूणर्िमादेखि ऋषि तर्पणी, जनै पूर्णिमासम्म एक महिनासम्म श्रावणी बोलबमधाम जलार्पण मेला लाग्दछ । यसमा विभिन्न चाडहरुमा मेला लाग्छ भन्ने कुरा बताएका छन् ।
त्यसपछि राम दतिवनधामको चर्चा छ । श्रीराम वनवास जाने क्रममा यस ठाउँमा आएर दतिवन भाँची कुल्ला गरेको किंवदन्तीका आधारमा यो धाम बन्न गएको हो । यस धाममा श्री रामचन्द्रको पाद स्पर्श भएको शिला छ । उनले वाणगंगाको पवित्र भूमिमा भएका अन्य धामहरुको पनि सामान्य परिचय दिएका छन् । बालु नीलकण्ठधाम, हतौसा मेला तथा शिव मन्दिर, पिपरा प्रकटेश्वर मन्दिर, जलेश्वरधाम, कोठी नदी, राजापानी पार्क, शृङ्गी घाट, देउराली घाट, जगदीशपुर घाट, सुपा देउराली मन्दिर आदिको चर्चा छ ।
साहित्यकार तथा कवि भारद्वाजले मुलुकका विभिन्न तीर्थस्थलहरुको परिभ्रमण गरेका छन् । विभिन्न अनुभव र ज्ञानले सिद्धि प्राप्त गरेका छन् । दोस्रो खण्डमा उनका आटवटा कविताहरु छन् । शिखरिणी छन्द उपजाति छन्दमा लेखिएका यी सुन्दर कविताहरुमा धामको वणर्न छ । धाम र त्यस क्षेत्रको प्राकृतिक छटाको मिश्रणबाट कलात्मक भएर आएका कविताहरु निकै सुन्दर बन्कीका छन् । उनको पहिलो कविता हो—खप्तड ।
खप्तडको बयानमा कवि लेख्छन्—
अग्ला ती हिमशैलका हिमछटा, छन् पर्वतै पर्वत
हेर्र्दमा मनमुग्ध हुन्छ सहजै, भू स्वर्ग हो खप्तड ।
त्यसपछि उनी प्युठान जिल्लामा रहेको रमणीय पावनधाम स्वर्गद्वारीको विषयमा लेख्छन् —
स्वामीका तप ध्यान योग बलले संसार नै व्यप्त भयो ।
स्वर्गैद्वार छ गुप्त यो जगतमा यो स्वर्गको द्वार हो ।
कविले यसरी नै देवघाट, गोदावरी, मुक्तिनाथ, रुरु,रुद्रवेणी आदिको वणर्न गरेका छन् ।
कवि छन्दवादी समाज नेपालका संस्थापक पनि हुन् । उनी छन्द साहित्यका अभियन्ता हुन् । छन्दमा मनोहर कविता लेख्न सक्छन् । उनी छन्द साहित्यका गुरु हुन् । उनलाई छन्द साहित्यमा डा.रामप्रसाद ज्ञवाली, देवी नेपाल, कविराज पौडेल र गोविन्दराज विनोदीहरुले पश्चिमका नक्षत्र भन्दछन् ।
वास्तवमा बाँणगंगा ऐतिहासिक, पौराणिक दृष्टिले महत्वपूण स्थल हो । यसको समष्टि विकासको लागि बृहत्तर गुरुयोजना आवश्यक छ । यसको लागि यस क्षेत्रका विशिष्ठ व्यक्तित्वहरुको पहल हुनु जरुरी छ । कविले विशेषतः हिमालय पर्वतका सुन्दर दृश्यहरुलाई आध्यात्मिक दर्शन र दृष्टिकोणबाट व्याख्या गरेर स्वर्गीय कल्पना गरेको पाइन्छ । उनी मूलतः आध्यात्मिक कवि हुन् । धर्म र संस्कृतिमा रहेका असल परम्परा, मूल्य र मान्यताहरुलाई आत्मसात गरी अनुशासित समाजवादी समाज निर्माण गर्ने उनको कामना छ । यसलाई उनले धार्मिक समाजवाद भन्छन् ।
अन्त्यमा एउटा कविताको श्लोक उल्लेख गर्दै मेलो बन्द गर्छु
पूर्वीय दर्शन फैलियोस् भुवनमा बढ्दै रहोस् भास्वत
साझा संस्कृति राष्ट्रको हित हुने, हो धर्म यो शास्वत
वाणी आर्य परम्परा जगतको लोगो बनोस् अंकित
वेदान्ती निज धर्म धारण गरौं हो ज्ञान यो शास्वत ।