एउटा प्रसिद्ध लोकोक्ति छ, पढेर भन्दा परेर जानिन्छ । तर, यो लोकोक्ति पूर्णसत्य छैन, अर्धसत्य छ । त्यो किनभने पढेर पनि जानिन्छ, परेर पनि जानिन्छ । तर पढेर धेरैलाई परेको जानिन्छ, परेर आफुलाई परेको मात्र जानिन्छ । त्यसैले पढेर भन्दा परेर जानिन्छ भन्ने भ्रममा बस्नु कदापि ठीक छैन ।
जुनसुकै पेशा व्यवसाय अपनाएपनि किताब पढ्न छोड्नु हुँदैन । त्यो किनभने जीवनमा केही नयाँ गर्न पढ्नै पर्छ । अगि बढ्न पढ्नै पर्छ । नपढी कुनै पनि क्षेत्रमा राम्रोसँग अगाडि बढ्न सकिँदैन । सफलता प्राप्त गर्न सकिँदैन । कुनै बिल गेट्सले दिनको १५–१५ घण्टा पढ्ने गर्थे, अहिले पनि पढ्ने गर्छन् ।
पढाइको कुरा गर्दा मानिसको दिमागमा के पढ्ने ? कति पढ्ने ? कसरी पढ्ने ? जस्ता प्रश्नहरु खडा हुन्छन् । अहिलेको जमनामा पढ्नु पर्ने किताबहरु भनेको स्वास्थ्य, शिक्षा, उत्प्रेरणा र आफ्नो पेशा व्यवसाय वा लक्ष्यसँग सम्बन्धित किताबहरु हुन् ।
तर किताबको महासागरमा कतिपय यस्ता किताबहरु छन्, जुन सबैले पढ्नु पर्छ, एक पटक होइन बारम्बार पढ्नुपर्छ । किताबरुपी महासागरका यस्ता मोतीहरु कुन कुन हुन त ?
यस आलेखमा म यस्ता १० प्रसिद्ध किताबहरुको चर्चा गर्न गइरहेको छु, जुन किताबहरुले मानिसलाई स्वस्थ, निरोगी, सधैँ उत्प्रेरित, ऊर्जाशिल राख्न मात्र होइन कि दिमागको बत्ती बाल्न सहयोग गर्ने छन् ।
नम्बर १० किताबः
१० सर्वश्रेष्ठ किताबको लिस्टमा मैले दसौं नं. मा डा.. दिपक चोपडाको किताब The Perfect Health लाई राखेको छु ।
The Perfect Health हेल्थ विषयको एक श्रेष्ठ सेल्फहेल्प किताब हो ।
यो किताब प्राचिन आयुर्वेदिक ज्ञानमा आधारित छ । यसलाई माइण्डबडी मेडिसिनको एक सम्पुर्ण किताब भने पनि हुन्छ । तनमनलाई स्वस्थ राख्न यो किताब निकै उपयोगी छ । यो किताब सबैले पढ्नै पर्ने किताबहरु मध्य एक हो ।
नम्बर ९ किताबः
नवौं नम्बरको किताब हो, डेल कार्नेगीको विश्वप्रसिद्ध किताब How to Win Friends & Influence People
सन् १९३६ मा प्रकाशित यस किताब अहिले पनि उत्तिकै चर्चित छ, उपयोगी पनि त्यत्तिकै छ ।
यस किताबले तपाईलाई सबैको प्रिय, आर्कषक तथा अझ सफल बनाउनका लागि सामाजिक तथा वार्तालाप कौशललाई कसरी प्रभावकारी बनाउने कुरा सिकाउँछ ।
नम्बर ८ किताबः
आठौं नम्बरको किताब हो, Think and Grow Rich नेपोलियन हिलद्वारा लिखित यस किताब सन् १९३७ मा प्रकाशित भएको थियो ।
यस किताब अहिलेसम्म १० करोड प्रति विक्री भइसकेको छ र लाखौं मानिसहरुको जीवन परिवर्तन गर्न सफल भएको छ । यस किताबले तपाईलाई पनि त्यस्तै सहयोग गर्ने छ । यो किताब सबैले पढ्नै पर्ने किताब हो ।
नम्बर ७ किताबः
सातौं नं.को किताब हो, The Feeling Good । फिलिङ गुड मनोचिकित्सक डेबिड बर्नको एक श्रेष्ठ किताब हो । यो किताब कग्निटिभ थेरापिमा आधारित सेल्फहेल्प किताब हो ।
यस किताबमा नकारात्मक सोच तथा संज्ञानात्मक विकृतिहरुको पहिचान गर्ने र त्यस किसिमको सोचहरु हटाइ कसरी मुड ठीक राख्ने मनोवैज्ञानिक टेक्निकहरु उल्लेख छ । यो किताब हरेक मानिसहरुको लागि उपयुक्त छ ।
नम्बर ६ किताबः
छैठौं नम्बरको किताब हो, The Alchemist । द एल्केमिस्ट पाउलो कोइल्होद्वारा लिखित एक चर्चित उपन्यास हो । सन् १९८८ मा प्रकाशित यस उपन्यास पोर्चुगिजमा लेखिएको थियो ।
अहिलेसम्म यस किताब बिभिन्न भाषामा गरेर ६ करोड ५० लाख प्रति बिक्री भइसकेको छ । यो उपन्यास रोचक मात्र छैन, ज्ञानबद्र्धक र मानिसको जीवन नै परिवर्तन गर्ने खालको छ ।
नम्बर ५ किताबः
पाचौं नं.को किताब हो, Man’s Search for Meaning। यस किताब भिक्टर फ्रैंकलद्वारा सन् १९४७ मा लेखिएको किताब हो ।
अहिलेसम्म यस किताबका एक करोडप्रति विक्री भइसकेका छन् । एक अध्ययनका अनुसार यो किताब अमेरिकाका १० प्रभावशाली किताबहरु मध्यको एक हो ।
यो किताबले दोस्रो विश्वयुद्धको बेला आशविट्ज शिविरमा कैदीको रूपमा रहदा फ्रैंकलको अनुभव वर्णन गर्दछ । आमा, बुबा, भाई र गर्भवती पत्नीको मृत्युहँदा उनी के कस्ता मनोचिकित्सा पद्धतिहरुको अपनाएर कैदमा बाँचेको थिए भन्ने कुरा उल्लेख छ ।
फ्रेंकल तर्क दिन्छन् कि हामी दुःखपीडाबाट बच्न सक्दैनौं, तर हामी यसलाई कसरी प्रतिक्रिया दिने हो भन्ने छनौट गर्न सक्छौं । र, अगाडि बढ्नको लागी हाम्रो अनुभवको उपयोग गर्न सक्छौं ।
नम्बर ४ किताबः
चौथौ नं.को किताब हो, The Power of Positive thinking । The Power of Positive thinking नर्मन भिंसेंट पिलद्वारा लेखिएको किताब हो ।
यो किताब अहिलेसम्म ५० लाख प्रतिबिक्री भइसकेको छ । यस पुस्तकले तपाइँलाई कसरी आफैंमा विश्वास गर्ने, चिन्ता गर्ने बानी हटाउने, र आफ्नो दृष्टिकोण परिवर्तन गरेर जीवन नियन्त्रित गरेर सफलतातिर अगाडि बढ्ने सिकाउँछ ।
नम्बर ३ किताबः
तेस्रो नं.को किताब हो, The 7 Habits of Highly Effective People । The 7 Habits of Highly Effective People सिटिफन कोवीद्वारा १९८९ मा लेखिएको एक चर्चित किताब हो ।
यस किताब अहिलेसम्म २ करोड ५० लाख प्रति विक्री भइसकेको छ । यस किताबमा कोवीले प्रायजसो सेल्फहेल्प किताबहरुमा उल्लेख गरिने व्यक्तित्व नैतिकताको विरुद्धमा तर्क दिएका छन् । उनेले चारित्रिक नैतिकतालाई महत्व दिएका छन् ।
नम्बर २ किताबः
दोस्रो नम्बरको किताब हो, Rich Dad Poor Dad । Rich Dad Poor Dad किताब रोबर्ट कियोसाकीद्वारा लिखित एक चर्चित किताब हो ।
यो किताब फाइनान्स म्यानेज्मेन्टको एक श्रेष्ठ किताब हो । किताबमा रोबर्ट कियोसाकीको दुई पिताहरु छन्, एक धनी छन् । अर्को गरीब छन् ।
तपाईलाई लाग्न सक्छ २ पिता कसरी ? एक उनको जनमदाता पिता हुन्, जो गरीब थिए । अर्को उनको बेस्ट फ्रेण्डको पिता हुन् जसलाई रोबर्टले आफ्नो पिता नै मान्थे ।
जन्मदाता पिता गरीब थिए, तर उनी निकै पढेलेखेका थिए । अर्को धनी पिताले भने स्कुलको पढाइलेखाइ पनि पुरा गर्न सकेका थिएनन् । दुवैले जीवनका खुब मेहनत गरे । तर पैसाको मामलाको दुवैको राय बिलकुल अलग थियो ।
नम्बर १ किताबः
दस सर्वश्रेष्ठ किताबको लिष्टमा पहिलो नम्बरको किताब हो, श्रीमदभागवत गीता । श्रीमदभागवत गीता हिन्दुहरुको पवित्र ग्रन्थ मात्र होइन, यो मनोचिकित्सा हो, सकारात्मक मनोविज्ञान हो, मोटिभेसन तथा सफलताको मार्गदर्शक हो ।
भनिन्छ, संसारका जति पनि किताबहरुमा जे जे छ, त्यो सबै यस किताबमा छ, यस किताबमा जे छैन, त्यो संसारका कुनै किताबहरुमा पनि छैन ।
अतः यो किताब सबैले पढ्नै पर्ने किताब हो । गहन रुपमा यो किताब पढ्ने र बुझ्ने हो भने अरु किताबहरु पढ्नै पर्दैन । तपाईले खोजेका हरेक कुराहरु यस किताबमा छ ।
अतः यी किताबहरु आफ्नो लाइब्रेरीमा राख्नुहोस् । एक पटक होइन, पटक पटक पढ्नुहोस् । किताबामा उल्लेखित विषयमा चिन्तन मनन गर्नुहोस् ।
कहिलेकाहीँ त किताबको एउटा वाक्यले नै सारा जीवन बदलिन सक्दछ । घरमा लाइब्रेरी छैन भने एउटा चिटिक्कको लाइब्रेरी बनाउनुहोस् ।
घरमा लाइब्रेरी भएपछि घरमा पढ्ने वातावरण पनि बन्छ । लाइब्रेरी भोलिका सन्ततिका लागि अमुल्य उपहार पनि हो ।
अर्को कुरा दसैंतिहारमा, अन्य चाडपर्वमा, जन्मदिनमा, विवाह तथा पास्नी आदिमा कट्कटिया नोट तथा लुगाफाटा दिनु भन्दा नयाँ कट्कटिया किताब दिन सुनमा सुगन्ध छरे जस्तो हुन्छ, मेरो विचारमा । जय होस् ।
(लेखक साइकोथेरापिष्ट तथा मेमोरी ल्याब प्रमुख हुन् ।)